काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक अवरोधकाबीच कहिलेसम्म चल्छ भन्ने प्रश्नको जवाफ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोध्न आग्रह गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठक पनि भदौ २९ गतेसम्म स्थगित भएपछि संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीले ‘ प्रधानमन्त्री ज्यु यसरी संसद कति दिन चल्छ ? भन्ने प्रश्न गरेका थिए । प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘ओलीजीलाई सोध्नुस् ।’
संसद बैठकअघि सुरु भएको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अवस्था अनुसार संसद् बैठक अवरोध गर्न सांसदहरूलाई सुझाएका थिए । प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले पदीय मर्यादा कायम गर, गैरसांसदलाई प्रवेश निषेध गर लगायतका नारा लगाएका थिए । सभामुख सापकोटाले भने संसद चल्न दिनका लागि अनुरोध गर्दै नारा रोक्नका लागि सांसदहरूलाई अनुरोध गरेका थिए ।
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि फेरि बैठक सुरु भएपनि एमालेको अवरोध कायमै रहेपछि बैठक भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।




प्रतिक्रिया