काठमाण्डु – राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस हुने बताइएको छ ।
दलहरुबीच सहमति भएमा सम्भवत: आजै विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । विधेयकमाथि सैद्धान्तिक छलफल भए पछि ७२ घण्टा संशोधन समय दिइनेछ । राष्ट्रिय सभा सदस्यहरुलाई विधेयकमाथि खर्च कटौतीको प्रस्तावसमेत राख्ने सुविधा हुन्छ ।
सांसदले यस्तो प्रस्ताव राखेमा त्यसमाथि पनि छलफल हुनेछ । त्यसपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउने छ । त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि विधेयक कार्यान्वयनमा आउनेछ ।
त्यसपछि मात्रै सरकारले खर्च गर्न पाउने छ । हिजोको प्रतिनिधि सभा बैठकमा एमालेको अवरोधकाबीच विनियोजन विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्र ऋण र आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।




प्रतिक्रिया