काठमणडु – परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९)बमोजिम कांग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका नेता डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।
खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको राष्ट्रपति कार्यालयले जानकारी दिएकाे छ । नवनियुक्त मन्त्री खड्काको शपथग्रहण शीतल निवासमा दिउँसो १ बजे हुने प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
शपथ गरेलगत्तै आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका नेताहरूको मंगलबार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो ।
मन्त्री नियुक्तिमा देउवाले एकलौटी निर्णय गरेको भन्दै यता रामचन्द्र पौडेल समूहले असन्तुष्टि व्यक्त गरेको छ । अहिलेसम्म कांग्रेसबाट मन्त्री बनेका सबैजना देउवानिकट मानिन्छन् ।
थप मन्त्रीको टुंगो लगाउन कांग्रेसले ३ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । यस्तै माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाउन ३ बजे नै स्थायी कमिटी बैठक बोलाएको छ ।




प्रतिक्रिया