एजेन्सी- अफगानिस्तानको हेरात सहरमा तालिबानले चार व्यक्तिको हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ। हेरात सहरमा चार जनाको हत्या गरी उनीहरुको शव स्थानीय चौरहरुमा झुण्ड्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो।
हत्या गरिएका व्यक्ति अपहरणकारी रहेको र चेतावनीस्वरुप शव सार्वजनिक स्थानमा झुण्ड्याइएको तालिबानले बताएको छ। उनीहरुलाई गोली हानेर शनिबार हेरातका विभिन्न चौरमा झुण्ड्याइएको हो।
गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएपछि तालिबानले पहिलाको जस्तो कठोर नभई अलि नरम शासन गर्ने बताउँदै आएको छ।तर देशका विभिन्न स्थानबाट मानवाधिकार उल्लङ्घन गरिएका अनेकौँ विवरण प्राप्त भएका छन्।
तालिबान सरकारमा कारागार प्रमुख बनाइएका मुल्लाह नूरुद्दिन तुराबीले “सुरक्षाका लागि आवश्यक भएको” भन्दै मृत्युदण्ड र अङ्गच्छेनको सजाय फेरि थालिने बिहीवार घोषणा गरेका थिए। एपीसँगको अन्तर्वार्तामा उनले त्यस्ता दण्डहरू सन् १९९० को दशकमा तालिबान शासनकालमा जसरी सार्वजनिक रूपमा भने नदिइने सम्भावना व्यक्त गरेका थिए। तालिबानले आफ्नो पाँच वर्षे शासनकालमा काबुलको रङ्गशाला तथा इद गाह मस्जिदको मैदानमा बारम्बार सार्वजनिक मृत्युदण्ड दिने गरेको थियो।




प्रतिक्रिया