कांग्रेस हलेसीको नगर उपसभापतिमा दाजुभाइ चुनाव लडे, दाइले जिते

कांग्रेस हलेसीको नगर उपसभापतिमा दाजुभाइ चुनाव लडे, दाइले जिते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको नगर उपसभापतिमा एकाघरका दाजुभाइबीच चुनावी प्रतिष्पर्धा भएको छ । शनिबार सम्पन्न नगर अधिवेशनमा नगर उपसभापतिका लागि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका दाइ देबेन्द्र राई र भाइ दिनेश राईबीच चुनावी प्रतिष्पर्धा भएको हो ।

देबेन्द्र घरका साइला र दिनेश कान्छा छोरा हुन् । देवेन्द्र चक्रकुमार राईको प्यानलबाट र भाइ दिनेश रमेश राउतको प्यानलबाट नगर उपसभापतिमा उम्मेद्वारी दिएका थिए । निर्वाचन प्रकृयाबाट चक्रकुमारको प्यानल विजयी भएको छ । दाजु देबेन्द्रले १ सय २६ मत र भाइ दिनेशले ५२ मत पाएको कांग्रेसले जनाएको छ ।

२४ भदौमा चक्रकुमारले प्यानलसहितको उम्मेद्वारी घोषणा गर्दा उपसभापतिमा देबेन्द्रको र २६ भदौमा रमेशले प्यानलसहितको उम्मेद्वारी घोषणा गर्दा भाइ दिनेशको नाम सार्वजनिक भएको थियो । देबेन्द्रलाई नगरपालिकाका मेयर इवन राई र दिनेशलाई उपमेयर बिमला राईको समर्थन थियो । दाजुभाइलाई दुई समूहले उम्मेद्वार बनाएको हो ।

‘हारे पनि जिते पनि’ एकै घरकाले जित्ने भन्दै दाजुभाइले सल्लाहमै एकै पदमा उम्मेद्वारी दिएको कतिपयको अनुमान छ । कांग्रेसको नगर उपसभापतिमा निर्वाचित देबेन्द्रले भने आफ्नो उम्मेद्वारीपछि भाइले उम्मेद्वारी दिएको बताए ।

‘पहिला सल्लाह भएको थिएन । मेरो उम्मेद्वारी आएपछि भाइको उम्मेद्वारी आयो,’ देबेन्द्रले भने, ‘टिमले अघि सारेका कारण दुबैको व्याक हुने अवस्था रहेन । त्यसपछि सौहाद्रपुर्ण रुपमै चुनावी मैदानमा उत्रिएका हौँ ।’