काठमाण्डु – सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद विस्तारबारे टुंगो लगाउने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केहि दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्ने भन्दै एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुसँग छलफल गरेर मन्त्रिपरिषद विस्तारबारे टुंगो लगाउन देउवालाई जिम्मा दिएका हुन् ।
‘राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई जिम्मेवारी दिएका छौं,’ एक नेताले भने । प्रधानमन्त्री देउवाले पटकपटक मन्त्रीको नाम दिन आग्रह गरेपनि गठबन्धनका नेताहरुले नाम उपलब्ध गराएका छैनन् ।
उनीहरुले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने अडान लिँदै आएका छन् । आजको बैठकमा अध्यादेश फिर्ता लिएर मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको जसपाका नेता महेन्द्रराय यादवले जानकारी दिए ।
गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको जोडबलमा सरकारले यो अध्यादेश २३ भदौमा प्रतिनिधिसभामा टेबल गरेको छ । तर यो अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जसपाको अडान छ । माधव नेपालको पार्टी एकीकृत समाजवादीविरुद्ध परेको मुद्धा सर्वोच्चमा विचाराधिन छ ।




प्रतिक्रिया