काठमाण्डु – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै रहने बताएका छन् ।
ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न तीन प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै विधान संशोधन कार्यदलका संयोजक समेत रहेका नेता पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताएका हुन् ।
अध्यक्ष केपी ओली, महासचिव इश्वर पोखरेल र उपमहासचिव पौडेलले आगामी १५–१७ गते हुने महाधिवेशनका लागि राजनीति, सांगठनिक र विधान संशोधन प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि शनिबार विभिन्न १० समूहमा बनाएर छलफल गरिएको थियो ।
शनिबार समूहगत छलफल सकिएपछि आइतबार नेताहरुले तीनवटै प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । यसक्रममा विधान संशोधन प्रस्तावमाथि छलफलका क्रममा धेरैजसो नेताहरुले केन्द्रीय पदाधिकारीहरूमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद हटाउनुपर्ने सुझाव दिएका थिए ।
तर, जवाफ दिने क्रममा नेता पौडेलले ७० वर्षे उमेर हद कायमै राखिने जवाफ दिएका हुन् । ‘यसबारे विधान महाधिवेशनले निर्णय गरे बेग्लै कुरा हो । तर, अहिले यसलाई कायमै राखिनेछ’, पौडेलको भनाई थियो ।




प्रतिक्रिया