नेपालमा अलपत्र परेका विद्यार्थीलाई तत्काल चीन पठाउन सरकारलाई निर्देशन

नेपालमा अलपत्र परेका विद्यार्थीलाई तत्काल चीन पठाउन सरकारलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले नेपाली विद्यार्थीलाई अध्ययनका लागि चीन जाने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना भाइरसको संक्रमणका कारण नेपालमा अलपत्र परेर बसेका विद्यार्थीहरूलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर कूटनीतिक पहल गरी अलपत्र परेका हजारौं विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन पठाउने व्यवस्था तत्काल मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिइन् ।

‘चीनमा पढिरहेका इन्जिनियरिङ सेक्टरका, मेडिकल सेक्टरका र अन्य सेक्टरका विद्यार्थीहरू आएर अलपत्र परेका छन् । कूटनीतिक पहल गरेर पढ्न पठाउनुपर्ने उनीहरूको एकमात्र माग छ’ उनले भनिन्, ‘पहिला यो विषयमा परराष्ट्र छलफल गरोस् र कूटनीतिक पहल गरेर विद्यार्थीहरुलाई पढन पठाउने व्यवस्था चाँही शिक्षा मन्त्रालयले गरोस् । हजारौं विद्यार्थी अलपत्र परेका छन । उनीहरूको भविष्य डामाडोल भएको छ ।’

बैठकमा शिक्षामन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले संसदीय समितिले दिएको निर्देशनअनुसार चीनमा अध्ययनका लागि पुनः जाने विद्यार्थीहरुको आवश्यक व्यवस्था तत्काल मिलाउने प्रतिबद्धता जनाए । उनकाअनुसार हाल चीनमा मात्रै अध्ययन गर्न जाने विद्यार्थीको संख्या ७ हजार ४८० जना रहेको छ ।