काठमाण्डु – परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् ।
एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले एमसीसी सैन्य गतिविधिसँग नजोडिएकाले नेपालको हितमा रहेको बताए ।
उनले एमसीसीका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो चरित्र देखाएको बताएका छन् । मन्त्री खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका छन् ।
‘राष्ट्रिय सहमति अपरिहार्य हो । तर एमसीसी बारे भइरहेका अनर्गल प्रचार गलत हो’, मन्त्री खड्काले भने, ‘ओली सरकारमा हुँदा धेरै पटक सभापति देउवासँगको भेटमा ओलीको एउटै कुरामा जोड हुने गर्थ्यो– एमसीसी मुलुकको आवश्यकता हो संसदवाट बिना संशोधन पास गर्नुपर्छ ।’
उनले एमसिसी र भारतको सम्बन्धलाई लिएर झुठो प्रचार गरिएको बताए । मन्त्री खड्काले नेपालले उत्पादन गर्ने विद्युत भारतलाई बेच्नेसमेत बताए ।
‘एमसीसी नेपालको आवश्यकता हो । यो सवै राजनीतिक दललाई अवगत छ । बाहिर हल्ला गरेजस्तो एमसीसी होईन । तर पनि दोहोरो चरित्रले शोभा दिँदैन यो विसुद्ध अनुदान हो । न त सेना नेपाल भित्रिन्छ न त राष्ट्रियता कमजोर हुन्छ । एमसिसी विकास हो’, उनले भने, ‘एमसीसी र भारतको सम्बन्धलाई लिएर जुन प्रचार गरिएको त्यो झुठो हावादारी प्रचार हो ।’




प्रतिक्रिया