काठमाण्डु – सोमबार ठूलो दुर्घटना हुनबाट जोगिएको बुद्ध एयरको जहाजले प्राविधिक रिपोर्ट नआई उडान भरेको छ । सोमबार काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्धको ९ एन–एएनआइ कल साइनको जहाजमा समस्या देखिएको थियो ।
जहाज अवतरण गर्ने बेलामा ल्याण्डिङ गियरमा समस्या देखिएपछि पाइलटले ७३ यात्रुसहितको जहाज काठमाण्डु फर्काएर सुरक्षित अवतरण गराएका थिए । जहाजमा समस्या देखिएपछि पर्यटन मन्त्रालय, नेपाल उड्डयन प्राधिकरण (क्यान) तथा स्वयम बुद्ध एयरले नै त्यसको जाँचबुझ गर्ने बताएकाे थियाे ।
क्यानले त प्राविधिक टोलीसहितको छानविन समिति नै बनाएको छ । क्यानले विज्ञ पाइलट डीआर निरौला नेतृत्वको आन्तरिक प्राविधिक छानबिन कमिटी बनाएको छ भने बुद्धले प्रमुख पाइलट रवि श्रेष्ठको नेतृत्वमा छानबिन गरिरहेको जनाएको छ ।
दुवै समितिले उडानको सोमबारै एफडीआर (फ्लाइट डाटा रेकर्डर) र सीभीआर (ककपिट भ्वाइस रेकर्डर) झिकेको छ । एफडीआर विश्लेषण गर्ने प्रविधि नियमनकारी निकाय प्राधिकरणसँग नभएकाले समितिले यसबारे जानकारी लिन बुद्धकै प्रविधिमा भर पर्नुपर्नेछ । तर, जहाजमा के कसरी समस्या आयो भन्ने कुराको रिपोर्ट नै नआउँदै जहाजले मंगलबार बिहानैबाट उडान भरेको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले क्यानको प्राविधिक टोलीले जहाजको अवस्था हेरेर उड्न योग्य रहेको भनेपछि जहाजले बिहानैदेखि उडान भरेको जानकारी दिए । उनका अनुसार हिजो नै क्यानको प्राविधिक टोलीले समस्या आएको बुद्ध एयरको जहाजको प्राविधिक निरीक्षण गरेको थियो ।
त्यस्तै हिजो सोमबार नै बुद्धको अर्को जहाजमा पनि समस्या देखिएको थियो । काठमाण्डुबाट पोखराका लागि उडेको जहाज इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको थियो । सो विमानमा समस्या देखिएपनि त्यसलाई ढाकछोप गर्ने प्रयास गरेको टीआइएका कर्मचारी बताउँछन् ।
बुद्ध एयरले कम्पनीले यात्रुको सुरक्षामा कुनै संझौता नगर्ने बताउँदै आएको छ । तर, यता सरोकारवाला कम्पनीले भने जर्वजस्ती छानविन कमिटीको रिपोर्ट नै नआइकन जहाज उडाएको बताएका छन् ।




प्रतिक्रिया