काठमाण्डु – सर्वोच्च अदालतले प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको खण्डन गरेको छ ।
सोमबार अपरान्ह सर्वोच्चले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशको कोटाबाट दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचारको खण्डन गरेको हो । सर्वोच्चले उक्त समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च सञ्चारमाध्यमलाई चुनौती समेत दिएको छ । आइतबार प्रधानन्यायाधीश राणाले सरकार विस्तार गर्ने क्रममा आफुलाई पनि कोटा मागेको समाचार सार्वजनिक भएका थिए ।
‘यसप्रकारको मिथ्यापूर्ण, भ्रामक समाचारहरूको विश्वासमा नपर्न आम नागरिक सबैमा अनुरोध गर्दै न्यायपालिकासँग सम्बन्धित समाचारहरु प्रकाशन गर्दा सत्यतथ्य बुझी आधिकारिकता पुष्टि हुने गरी समाचार प्रकाशन गर्नसमेत सम्बन्ध सञ्चारमाध्यमहरुमा सर्वोच्च अदालत आग्रहसमेत गर्दछ,’ सर्वोच्चका प्रवक्ता बाबुराम दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
समाचारहरुमा सर्वोच्च अदालतले कोटा मागेको नभई प्रधानन्यायाधीशको व्यक्तिगत विषय बाहिर आएको थियो । यद्यपि सोमबार विज्ञप्ति आउँदा भने प्रधानन्यायाधीश वा प्रधानन्यायाधीशको सचिवालयबाट नआई सर्वोच्च अदालत प्रशासनबाट विज्ञप्ति जारी भएको हो ।





प्रतिक्रिया