भागबन्डाले गठबन्धनभित्र लफडा, राेजेको मन्त्रालय नपाए सरकारमा नजाने माधव–उपेन्द्रको चेतावनी

भागबन्डाले गठबन्धनभित्र लफडा, राेजेको मन्त्रालय नपाए सरकारमा नजाने माधव–उपेन्द्रको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रालयको भागबन्डालाई लिएर सत्तारुढ गठबन्धनभित्र विवाद उत्पन्न भएको छ । पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शपथ ग्रहण गरेको ८० दिन बितिसक्दासमेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् ।

आइतबार बिहान र साँझ बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबन्डामा सहमति जुट्न सकेको छैन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा दलहरुले आफूले रोजेको मन्त्रालय नपाएको भन्दै सरकारमा सहभागी नहुने चेतावनी दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले आफूले रोजेको मन्त्रालय नपाए सरकारमा नजाने बताएको बैठकमा सहभागी नेकपा एसका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनले दुवै पार्टीलाई सम्मानजनक मन्त्रालय नदिए सरकार बाहिर बस्ने बताए । नेता पाण्डे र जसपाका नेता महिन्द्रराय यादवले सरकारमा सहभागी नभएपनि सरकारलाई बाहिरबाटै सहयोग गर्ने बताएका थिए ।

‘संविधान र लोकतन्त्र रक्षा गर्न हाम्रो साथ सधैँ रहन्छ’, गठबन्धनमा जसपा नेताको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘तर, हामी सरकारमा सहभागी भने हुँदैनौँ, तलै बसेर समर्थन गर्छौँ । गठबन्धनलाई बलियो बनाउँछौँ ।’

तर, कांग्रेस र माओवादी केन्द्रका नेताहरुले सबैलाई समेटेर लैजानुपर्ने बताएका थिए । कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रालयको भागबन्डा लगाउने जिम्मेवारी शीर्ष नेताहरुलाई दिनुपर्ने र गठबन्धन टुट्न नहुने बताएका थिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री नदिएकोमा प्रधानमन्त्रीसँग असन्तुष्टी पोखेका थिए । प्रधानमन्त्री देउवाले कसैलाई पनि उपप्रधानमन्त्री नदिने बताएपछि जसपा अध्यक्ष यादव आफू सरकारमा नजाने तर, अन्य नेताको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा पुगेका छन् । जसपा र नेकपा एसले एउटै मन्त्रालयमा दाबी गर्दा गठबन्धनभित्र समस्या उत्पन्न भएको हो ।

आइतबार बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ रहेकाले उनी निको भएपछि मन्त्रालयको भागबन्डा लगाउनेपर्ने नेताहरुले बताएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए । उनी आजै डिस्चार्ज भएका छन् ।

तत्काल सम्भव छैन् मन्त्रिमण्डल विस्तार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज साँझै मन्त्रीलाई शपथ खुवाउने तयारी भइरहेको बताए पनि त्यो सम्भव नहुने भएको छ । दलहरुबीचमा मन्त्रालय भागबन्डालाई लिएर असहमति चुलिरहेका बेला प्रचण्ड भनाईमा सत्यता नरहेको स्वंय माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

‘मन्त्रालयको भागबन्डामा दलहरुबीच असमझदारी रहेको छ । आजै मन्त्रिमण्डल विस्तार गर्न सम्भव छैन्,’ माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने, ‘माधवजी अस्वस्थ हुनुहुन्छ । केही दिन आराम गरेपछि मन्त्रालय भागबन्डामा छलफल हुन्छ ।’

आज माओवादीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई काठमाण्डुमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘क्याबिनेट विस्तार गरेर सकेसम्म आजै शपथ ग्रहण गराउने कुरो छ । भ्याइएन भने मन्त्रीहरुको आज टुंगो गरेर भोलिसम्म शपथ हुन्छ ।’

प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिमण्डलमा कांग्रेसबाट चार र माअ‍ोवादी केन्द्रबाट दुई जना मन्त्री छन् । जसमध्ये गृहमन्त्री बालकृष्ण खाँड, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमा उमेश श्रेष्ठ रहेका छन् ।