काठमाण्डु– सत्तारुढ दलहरुबीच मन्त्रालय बांडफांडमा सहमति जुटेको छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार दलहरुबीच मन्त्रालयको संख्या र मन्त्रालय बांडफांडमा सहमति जुटेको हो । प्रधानमन्त्री नियुक्त भएको ८४ दिन बितिसक्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको छ ।
दलहरुबीच मन्त्रालय भागवण्डामा बिवाद हुंदा मन्त्रिमण्डल विस्तार हुन सकिरहेको थिएन । सोमबार दलहरुबीच त्यसमा सहमति जुटेको हो ।
सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्रालय लिने माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी दलले ५ मन्त्री र १,१ राज्यमन्त्री पाउने सहमति भएको हो ।
प्रधानमन्त्री देउवाले कांग्रेस नेता रामचन्द्र पौडेललाई दुई र नेता कृष्ण सिटौला पक्षलाई १ मन्त्रालय दिने सहमति समेत भएको स्रोतको दावी छ । कांग्रेसको बिवादमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मध्यस्थता गरेको बताइन्छ ।
जसअनुसार पौडेल समुहबाट कांग्रेस नेता दिलेन्द्र बडु संचारमन्त्री बन्ने पक्कापक्की भएको छ । त्यसैगरी पुष्पा भुसाल, उमाकान्त चौधरी र भिमसेनदास प्रधान पनि मन्त्री बन्ने सुचीमा छन् । अहिले स्वास्थ्यराज्यमन्त्री रहेका उमेश श्रेष्ठको विदाई हुने लगभग निश्चित भएको छ । कांग्रेसबाट अहिले गृहमा बालकृष्ण खांड, कानुनमा ज्ञानेन्द्र कार्की र परराष्ट्रमा नारायण खड्का मन्त्री नियुक्त भइसकेका छन् ।
त्यसैगरी माओवादी केन्द्रबाट उर्जामा पम्फा भुसाल र अर्थमा जनार्दन शर्मा मन्त्री छन् । बांकी ३ मन्त्रीमा माओवादीले देवेन्द्र पौडेल,हरिवोल गजुरेल,महेश्वर गहतराज, शशी श्रेष्ठ र २ नम्बर प्रदेशबाट एक जना महिला सांसदलाई राज्यमन्त्री बनाउने तयारी छ ।
माओवादीले शहरी विकास मन्त्रालय लिने र समाजवादीले खानेपानी र पर्यटन लिने सहमती भएको छ । नेकपा एकिकृत समाजवादीका नेता प्रेम आले पर्यटनमन्त्री बन्ने पक्कापक्की छ । त्यसका साथै विरोध खतिवडा,शेरबहादुर कुवंर,रामकुमारी झांक्रिलगायत मन्त्री बन्ने सुचीमा छिन् ।
उपेन्द्र यादवले नेतृत्व गरेको जसपाले भौतिक मन्त्रालय पाउने टुंगो लागेको छ । जसपाबाट राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई,प्रदिप यादव र रेणु यादवलगायत मन्त्री बन्न लागेको स्रोतले बतायो ।
दलहरुबीच सहमति भएसंगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारीस समेत अलपत्र परेको छ । प्रधान्यायाधीश राणाले उनका नातेदार गजेन्द्र हमाल र दिपक तिमिल्सेनाको नाम मन्त्रीमा सिफारीस गरेको समाचार सार्वजनिक भएको थियो । दलहरुले कानुन व्यवसायी गोविन्द बन्दीलाई समेत मन्त्री बनाउनेबारे छलफल गरेका थिए । तर, आजको सहमतिसंगै दुवै सम्भावना सक्किएको छ ।




प्रतिक्रिया