काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीले दुई प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा बसेको बैठकले प्रदेश १ र बागमतीमा मुख्यमन्त्री दिने निर्णय गरेको हो ।
संघीय सरकारमा मन्त्रिपरिषद् विस्तारको भागबण्डा पेचिलो बनिरहेको बेला नेकपा एसलाई मनाउन गठबन्धनले दुई प्रदेशको मुख्यमन्त्री दिने सहमति गरेको स्रोतले बतायो । नेकपा एसबाट प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् ।
हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार छ । तर, पार्टी विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । असोज अन्तिम साता उनीहरुले विश्वासको मत लिने तयारी गरेका छन् ।
विश्वासको मत लिँदा उनीहरुले बहुमत नपाउने निश्चित छ । यस्तो अबस्थामा बन्ने गठबन्धन सरकारमा माधव नेपाल पक्षले सुरुदेखि नै दावी प्रस्तुत गर्दै आएको प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।




प्रतिक्रिया