काठमाण्डु – प्रदेश सरकार बनेको लामो समयपछि लुम्बिनीमा मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । कांग्रेसका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीमा नियुक्त भएको दुई महिना पुग्नै लाग्दा आज मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन् ।
साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका उनले यसअघि माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । मुख्यमन्त्री निकट स्रोतका अनुसार शुक्रबार दिउँसो ३ बजे शपथ गराउने तयारी छ ।
स्रोतका अनुसार माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्माको मन्त्री बन्ने टुंगो लागेको छ । पाल्पाका तुलाराम घर्तीको पनि नाम चर्चामा थियो । उनी माओवादीका प्रमुख सचेतक हुन् । तर, माओवादी कोटामा परेको एक मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई परेपछि घर्तीको नाम अन्तिममा सूचीबाट हटेको माओवादीका एक नेताले बताए ।
माओवादीले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको थियो । माओवादीका ४ मन्त्रालयमध्ये १ मन्त्रालय नेकपा (एस)ले पाउने छ । नेकपा (एस)बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछिन् । माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको छ ।
त्यस्तै ४ मन्त्रालय पाएको कांग्रेसले पनि दुई मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका वसिउद्दिन खाँ मन्त्री बन्ने निश्चित भइसकेको पार्टीका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा खाँलाई पठाउने कांग्रेसले निर्णय गरेको छ । यसअघि दाङका डिल्लीबहादुर चौधरी कांग्रेसको तर्फबाट पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री भइसकेका छन् ।
कांग्रेसले एक मन्त्रीको नाम छान्न केन्द्रमा अनुरोध गरेको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानाबीच सहमति हुन हुन सकेको छैन । त्यस्तै कांग्रेसले पाएको दुई राज्यमन्त्रीमा पनि अर्घाखाँचीकी निर्मला क्षेत्री र कपिलबस्तुकी रिना नेपालसहित अन्य दुई पुरुषको दाबी भएपछि व्यक्ति छनोट गर्न केन्द्रसँग नै अनुरोध गरेको छ ।
१६ महिना कार्यकाल बाँकी रहेका एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन पाँच दलीय गठबन्धनले माओवादीबाट केसी ८ महिना र कांग्रेसबाट वीरेन्द्र कनौडिया ८ महिना मुख्यमन्त्री बन्ने सहमति गरेका थिए । मुख्यमन्त्री बनेका केसीले लामो समय मन्त्रिपरिषद बिस्तार गर्न नसकेको भन्दै आलोचना भएको थियो ।




प्रतिक्रिया