प्रदेश १ मा भीम आचार्यलाई विस्थापन गर्दै राजेन्द्र राई मुख्यमन्त्री बन्दै

प्रदेश १ मा भीम आचार्यलाई विस्थापन गर्दै राजेन्द्र राई मुख्यमन्त्री बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । बिहीबार सिंहदरबारमा बसेको गठबन्धनको बैठकले बाग्मती र प्रदेश १ का मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति गरेपछि प्रदेश १ मा राई मुख्यमन्त्री बन्ने निश्चित भएको हो । मुख्यमन्त्रीका लागि राई प्रदेश १ मा एकीकृत समाजवादीको एकल उमेदवार हुन् ।

दुईदिन अगाडि मात्र नवनिर्मत संसद भवनको उद्घाटन गर्दै मुख्यमन्त्री भीमप्रसाद आचार्यले ‘दसैँमा मासु खाएर ठन्डा दिमाग लिएर आउनुहोस् अनि सहमतिको सरकार बनाउँ’ भनेका थिए । उनको भनाइअनुसार उनले शुक्रबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत नलिने बुझिएको छ ।

नेकपा (एकीकृत समाजवादी) का सांसद राजन राईले दसैं अगाडि नै नयाँ सरकार गठन भइसक्ने दाबी गरे । मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतमा परि सकेकाले प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्ने र आफुहरु बहुमतसहित सरकारको दाबी गर्ने बताए ।

संवैधानिक रुपमा विश्वासको मत ३० दिनभित्र लिइसक्नुपर्ने प्रावधान छ । यो विशेष अधिवेशन बोलाएर प्रक्रिया अगाडि बढाउनु पर्ने हो । दशैंपछाडि जाने देखिन्छ । हामी आज छलफलमा छौं । सरकारले कस्तो कदम लिन्छ थाहा हुन्छ । ३० दिनभित्र विश्वासको मत नलिए यो सरकार स्वतः ढल्छ । प्रदेश प्रमुखले दलहरुलाई आह्वान गरेर नयाँ सरकार बनाउन आग्रह गर्नुहुन्छ । दशैं अगाडि नयाँ सरकार बन्छ,’ काठमाण्डुपाटीसँग कुरा गर्दै सांसद राईले भने ।

शुक्रबार बस्ने संसदीय दलको बैठकले के गर्ने भन्ने निर्णय गर्ने नेकपा (एमाले)का प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारीले बताए । गत १० भदौमा मुख्यमन्त्री भएका आचार्य एक हप्ता नबित्दै अल्पमतमा परेका थिए । १६ भदौमा प्रदेश निर्वाचन आयोगमा नेकपा एमालेका १० सांसद्ले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेका हुन् ।

निर्वाचन आयोगले संसद सचिवालयलाई २५ भदौमा १० जनाले हस्ताक्षर गरेर एकीकृत समाजवादी रोजेको पत्र पठाएका थिए । पार्टी फुटेको मितिले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

आयोगले संसदमा पत्र पठाएको मितिले ३० दिन शुक्रबार पुग्दै छ । तर, मुख्यमन्त्री आचार्यले दसैँ अगाडि विश्वासको मत नलिने संकेत गरिसकेका कारण राईलाई दसैँ अगाडि मुख्यमन्त्री हुने बाटो भने खुल्ने देखिँदैन । शुक्रबार दिउँसो २ बजेलाई प्रदेशसभाको बैठक बोलाइएको छ ।

प्रदेश प्रमुख परिवर्तन गर्ने र आज विश्वसको मत नलिए बहुमत सांसद्को हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष जाने तयारीमा गठबन्धनको तयारी थियो । तर, संघमा गठबन्धनले प्रदेश प्रमुख परिवर्तन नगरिदिएपछि उनीहरूका संकटमा परेका छन् ।

अहिलेका प्रदेश प्रमुख सोमनाथ (प्यासी) अधिकारीलाई भने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका थिए ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक÷एक जना सदस्य छन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ ।