काठमाण्डु – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा चौतर्फी घेराबन्दीमा परेका छन् । एकपछि अर्को विवादमा तानिँदै गएपछि उनी थप संकटमा परेका हुन् ।
प्रधानन्यायाधीश जवरामाथि मन्त्रिपरिषद्मा भागवण्डा खोजेको, संवैधानिक परिषद सम्बन्धी मुद्दाको सुनुवाइ पन्छाएको, न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले दिएको सुझाव कार्यान्वयन नगरेको, प्रतिनिधिसभा विघटनका मुद्दामा चलखेल गरेको, संवैधानिक अंगमा पदाधिकारी नियुक्त गर्दा भागवण्डा लिएको जस्ता आरोप लागेको छ ।
उनीविरुद्ध सर्वोच्चका न्यायाधीशहरु नै विपक्षमा उभिएका छन् । आइतबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँगको छलफलमा प्रधानन्यायाधीशले सोमबार फुलकोर्ट बैठक राख्ने र त्यसबाट नै समस्या समाधान गर्ने बताएपनि राणाको त्यो प्रयास सफल नहुने देखिएको छ ।
सर्वोच्च अदालतकै १४ न्यायाधीशले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक वहिष्कार गर्ने निर्णय गरेका छन् । प्रधानन्यायाधीशले सोमबारका लागि फुलकोर्ट बोलाएलगत्तै बसेको असन्तुष्ट १४ न्यायाधीशहरुको बैठकले जवराले अदालतलाई बदनाम गरेर आफू बच्नका लागि विषयान्तर गर्न फुलकोर्ट बोलाएको निष्कर्ष निकालेका छन् ।
जसका कारण उनी सर्वोच्च अदालतमा एक्लो भएका छन् । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने या मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठ्दै आइरहेको छ । प्रधानन्यायाधीशले आफ्नो गल्ती छोप्न फुलकोर्ट बोलाएको उनीहरुको निष्कर्ष छ ।
‘आफू अप्ठ्यारोमा नपर्दासम्म सर्वोच्चको पूर्ण बैठक नडाक्ने प्रधानन्यायाधीशले न्यायालय सुधारसँग जोडिएका कतिपय माग र एजेण्डाहरुलाई लत्याए । अहिले आफ्नो गल्ति छोप्न पूर्ण बैठक बोलाए । बारका मानिसहरु फुलकोर्टमा बस्न मिल्दैन । उनीहरु बसेको स्थानमा हामी बस्न सक्दैनौं,’ एक न्यायाधीशले भने, ‘प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्छ । पूर्वन्यायाधीशले समेत न्यायालयमा हुने क्षति कम गर्न उनलाई मार्ग प्रशस्त गराउनुपर्छ भनेको कुरा हामीले गम्भीर रुपमा लिएका छौं । अब निर्णायक तहमा पुगेको छ जे पनि हुनसक्छ ।’




प्रतिक्रिया