प्रधानन्यायाधीश प्रकरणः एमाले मौन, कांग्रेस भन्छः बोल्न मिल्दैन

प्रधानन्यायाधीश प्रकरणः एमाले मौन, कांग्रेस भन्छः बोल्न मिल्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दल मौन बसेका छन् । प्रमुख प्रतिपक्षी एमालेले यसबारे पार्टीले धारणा बनाइनसकेको बताएको छ भने सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले नोटिसमा लिएको बताएका छ ।

सत्ता नेतृत्व कांग्रेसले भने यसबारे पार्टीले धारणा नराख्ने बताइसकेको छ । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानन्यायाधीश प्रकरणमा पार्टीको धारणा बनिनसकेको भन्दै धारणा बनाएर सार्वजनिक गर्ने बताए ।

नेकपा एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले ‘प्रधानन्यायाधीश प्रकरण नोटिसमा लिइएको र अध्ययन भइरहेको’ बताए ।

‘यसबारे पार्टीमा छलफल गरेका छैनौ, तर विषयबस्तु नोटिसमा लिएका छौँ । अध्ययन गर्दैछौँ,’ खतिवडाले भने ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमै भागवण्डा लिएपछि उनीमाथि राजीनामा चर्को दबाब छ । जबराले आज सोमबारका लागि सर्वोच्च अदालतको फुलकोर्ट बोलाएका छन् । तर, सर्वोच्चका १४ न्यायाधीशले बहिस्कारको निर्णय लिएका छन् ।

काँग्रेसले भन्यो– प्रधानन्यायाधीश प्रकरणमा हामी बोल्दैनौँ

सत्ता नेतृत्व दल नेपाली काँग्रेस प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा नबोल्ने भएको छ ।

जबराले मन्त्रिपरिषदमा पनि भागवण्डा लिएपछि उनले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा पार्टीले बोल्न नमिल्ने बताएका हुन् ।

‘यो विषयमा राजनीतिक दल प्रवेश गरेर बोल्न मिल्दैन, सम्बन्धित सरोकारवाला निकाय नेपाल बार एसोसियसन, पूर्वन्यायाधीशको फोरम छ,’ शर्माले भने, ‘हामीले डिफेन्स पनि गर्न मिल्दैन, समर्थन पनि गर्न मिल्दैन ।’