साउदीले पाकिस्तानका लागि चाल्यो ठूलो कदम

साउदीले पाकिस्तानका लागि चाल्यो ठूलो कदम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – साउदी अरेबियाले पाकिस्तानलाई वार्षिक १.२ बिलियन डलरको तेल र स्टेट बैंक अफ पाकिस्तानमा ३ अर्ब डलर जम्मा गर्ने घोषणा गरेको छ । पाकिस्तानका उर्जामन्त्री हमाद अजहरले ट्वीटरमार्फत् यो जानकारी दिएका हुन् । अजहरका अनुसार पाकिस्तानले यो तेलको लागि बिल तत्काल तिर्न नपर्ने बताएका छन् । यो तेल ढिलो भुक्तानी सुविधा अन्तर्गत उपलब्ध हुनेछ ।

साउदी विकास कोषका यी कदमहरूले पाकिस्तानलाई मद्दत गर्नेछ । उनले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा पर्ने दबाब कम हुने बताए । उल्लेखनीय छ कि यतिबेला पाकिस्तानमा डलरको तुलनामा पाकिस्तानी रुपैयाँको मूल्यमा तीव्र गिरावट आएको छ र चार महिनामा मात्रै डलरको मूल्य २० पाकिस्तानी रुपैयाँभन्दा बढीले बढेको छ । अहिले एक अमेरिकी डलरको मूल्य १७५ रुपैयाँ छ ।

साउदी अरेबियाको आधिकारिक समाचार सेवा एसपीएका अनुसार, साउदी विकास कोषले मंगलबार एक विज्ञप्तिमा पाकिस्तानको विदेशी मुद्रा सञ्चितिलाई सहयोग गर्न र सरकारलाई कोरोनासँग जुध्न मद्दत गर्न शाही निर्देशनमा पाकिस्तानको केन्द्रीय बैंकमा तीन अर्ब डलर जम्मा गर्ने जनाएको छ । साउदी विकास कोषका अनुसार शाही निर्देशनमा एक वर्षभित्र पाकिस्तानलाई १.२ अर्ब डलर बराबरको तेल पनि उपलब्ध गराइनेछ । उल्लेखनीय कुरा के छ भने साउदी अरेबियाले हालै पाकिस्तानी प्रधानमन्त्री इमरान खानको साउदी अरब भ्रमणपछि यो ‘आर्थिक प्याकेज’ घोषणा गरेको हो ।

साउदी युवराज मोहम्मद बिन सलमानको निमन्त्रणामा इमरान खानले यसै साता साउदी अरबको तीन दिने भ्रमण गरेका थिए । साउदी अरबले पाकिस्तानलाई ढिलो भुक्तानीमा तेल सुविधा उपलब्ध गराएको यो पहिलो पटक होइन । यसअघि पनि साउदी अरेबियाले पाकिस्तानलाई यस्तो सुविधा दिएको थियो । यसअघि सन् १९९८ मा अमेरिकाले आणविक कार्यक्रमलाई लिएर पाकिस्तानमाथि आर्थिक प्रतिबन्ध लगाएपछि पाकिस्तान गम्भीर आर्थिक संकटको चपेटामा परेको थियो । त्यसपछि पनि साउदी अरेबियाले पाकिस्तानलाई वार्षिक तीन अर्ब डलर ऋण दिन थालेको थियो ।

त्यस्तै सन् २०१४ मा पाकिस्तानलाई आफ्नो भुक्तानी सन्तुलन नियन्त्रणमा राख्न विदेशी मुद्राको आवश्यकता पर्दा साउदी अरबले पाकिस्तानलाई १.५ बिलियन डलर नगद दिएको थियो, जसले पाकिस्तानलाई आफ्नो विदेशी मुद्रा सञ्चितिमा सुधार गर्न मद्दत र्गयो । इमरान खानको सरकारमा साउदी अरेबियाले पाकिस्तानलाई यस्तो सुविधा दिएको यो तेस्रो पटक हो । इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफको सरकार सत्तामा आएपछि सन् २०१८ को अन्त्यमा साउदी अरेबियाले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिलाई स्थिर बनाउन तीन अर्ब डलर दिएको थियो ।

यससँगै ढिलो भुक्तानी सर्तसहित ९ अर्ब डलरसम्मको तेल दिने सम्झौता पनि भएको छ । साउदी अरेबियाले पाकिस्तानलाई नौ महिनासम्म हरेक महिना २७ करोड डलरको तेल उपलब्ध गराएको थियो तर साउदी अरेबियाले अचानक यो सुविधा बन्द गरेको थियो । त्यसपछि यस वर्षको जुनमा ऊर्जा मन्त्री हमाद अजहर र प्रधानमन्त्री इमरान खानका विशेष राजस्व सहायक वकार मसूदले पाकिस्तानले साउदी अरबबाट एक वर्षको लागि १.५ अर्ब डलरको तेल पाउने घोषणा गरेका थिए । पाकिस्तानले आफ्नो ऊर्जा आवश्यकताका लागि १० अर्ब डलर बराबरको उत्पादन आयात गर्छ । ग्यास आयातलाई पनि यसमा समावेश गर्ने हो भने १४–१५ अर्ब डलर पुग्छ ।