काठमाडौं : उपत्यकाभित्र बिच्छ्याइएका मेलम्चीका पाइपमा आइतबारदेखि ‘फ्लस’ गर्न मन्त्रीले दिएको निर्देशन आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) ले कार्यान्वयन गरेको छैन ।
खानेपानीमन्त्री बिना मगरले निर्देशनालयलाई सुन्दरीजलबाट ल्याउन मिल्ने बागमती नदीको चार करोड लिटर पानी मेलम्ची पाइप सफा गर्न निर्देशन दिएकी थिइन् ।
निर्देशनलगत्तै मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा असार १० गते बसेको बैठकमा निर्देशनालयले सहमति जनाएको थियो। मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजलमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्ट सञ्चालन गर्ने सम्बन्धमा बसेको बैठकले आइतबारदेखि पाइप ‘फ्लस’ गर्ने निर्णय गरेको हो ।
बैठकमा आयोजनाका कार्यकारीनिर्देशक सूर्यराज कँडेल, निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्री, मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर दिनेश अधिकारी, मेलम्चीको पानी वितरण गर्ने ठेक्का पाएको कम्पनी भिए टेक वाब्यागका मेकानिकल इन्जिनियर सहभागी थिए ।
आइतबारदेखि चार करोड लिटर पानीबाट उपत्यकाका मेलम्ची पाइपलाइन सफा (फ्लस) गर्ने निर्णय भएको थियो । यसअघि निर्देशनालयले असार ३ मा फ्लस गर्ने तयारी अन्तिम चरणमा आएर रोकेको थियो ।
निर्देशन अवज्ञा भएपछि मन्त्री मगरले समय तोकेरै पछिल्लो निर्देशन दिएकी थिइन् । मन्त्रीको निर्देशनलाई बाध्यकारी बनाउन सचिवस्तरीय निर्णय गरिएको थियो । निर्णयअनुसार, निर्देशनालयले बागमतीमा वर्षात्को समयमा प्राप्त हुने पानी मेलम्ची खानेपानी विकास समितिको सहयोगमा सदुपयोग गरी थोक वितरण प्रणाली ‘फ्लसिङ’ एन्ड ‘टेस्टिङ’ को काम गर्नुपर्नेछ ।
सुन्दरीजलमा निर्मित पानी प्रशोधन केन्द्रमार्फत् थोक वितरण प्रणालीमा पानी पथान्तरण तथा प्रारम्भिक प्रशोधन गर्न समितिको सम्बन्धित भारत चेन्नाईको ठेकेदार भिए टेक वाब्याग लिमिटेडले दुईजना विशेषज्ञ (केमिस्ट र प्रोसेस इन्जिनियर) आइतबारदेखि उपलब्ध गराउने निर्णय भएको थियो ।
निर्देशनालयले ‘फ्लसिङ’ एन्ड ‘टेस्टिङ’ को काम आइतबारदेखि एक परीक्षण गर्दै धोबी खोलामा पठाउने सहमति भएको थियो ।
डेढ अर्बभन्दा बढी रकम र पाँच सय ७० दिन थप गर्नुपर्ने रडाको झिकेर काम अवरुद्ध गरेको इटालीयन कम्पनी सीएमसी (मेलम्चीको ठेकेदार) सँगै सरकारले दुई साताअघिमात्र मेलम्चीको खानेपानी असोजको दोस्रो साता सुन्दरीजलमा पठाउने गरी पुनः नयाँ सहमति गरिसकेको छ ।
त्यसअघि मन्त्रालयले एसियाली विकास बैंक, मेलम्ची खानेपानी आयोजना विकास समिति र सीएमसीसँगै बसेर जेठ ३१ गतेभित्र मेलम्चीको पानी सुन्दरीजल ल्याउने सहमतिसहितको कार्ययोजना बनाएर सार्वजनिक गरिसकेको थियो ।
कार्ययोजनाअनुरुप काम नभएपछि मन्त्रालयले सीएमसी केन्द्रीय कार्यालय इटालीमा जेठ २१ गते १५ दिनको म्याद राखी सरकारको राष्ट्रिय गौरवको आयोजनामा सिएमसी गम्भीर हुन पत्राचार गरेको थियो ।
‘फ्लसिङ’ एन्ड ‘टेस्टिङ’ को काम सकिएपछि पानी प्रशोधन गरी वितरण गर्न सम्बन्धित ठेकेदार कम्पनी वाब्यागका उच्च अधिकारीसँग छलफल गर्न यसै साता बैठकमा बोलाइएको छ ।
निर्देशक खत्रीले वाब्यागले ट्रिटमेन्ट प्लान्ट चलाइ पानी पठाएपछि शुक्रबारदेखि मेलम्ची पाइप परीक्षणका लागि चार करोड लिटर पानीबाट ‘फ्लसिङ’ एन्ड ‘टेस्टिङ’ को काम हुने जानकारी दिए । अन्नपूर्ण पाेस्टबाट साभार




प्रतिक्रिया