आन्दोलनरत न्यायाधीश समूहमै विभाजित, नियमित इजलासमा फर्किने पाँच न्यायाधीशको तयारी

आन्दोलनरत न्यायाधीश समूहमै विभाजित, नियमित इजलासमा फर्किने पाँच न्यायाधीशको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेका सर्वोच्च अदालतका न्यायाधीश विभाजित भएका छन् ।

प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलनबारे थप रणनीति बनाउन भनेर सोमबार नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग आयोजित छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन् ।

छलफलमा सहभागिता जनाउन अस्वीकार गरेका न्यायाधीशहरुमा कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन् । उनीहरुले नियमित मुद्दा सुनुवाइका लागि इजलासमा फर्किने समेत तयारी गरेका छन् ।

‘अहिले नै हामीले कुनै निष्कर्ष त निकालिसकेका छैनौं, तर अदालत बाहिर सेवाग्राहीको अवस्था हेर्दा साह्रै दुःख लाग्दो छ । सेवाग्राहीको सहजताका लागि पनि हामी मुद्दाको सनुवाइ गर्नुपर्छ भन्ने मनस्थितिमा पुगेका हौं,एक न्यायाधीशले भने, ‘सम्भवतः भोलि (मंगलबार) बिहान बसेर मुद्दाको सुनुवाइ गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्न सकिन्छ ।’

ती न्यायाधीशका अनुसार मंगलबार बिहान ५ जना न्यायाधीशको बीचमा बैठक बस्ने छ । मंगलबारको बैठकबाट नै नियमित सुनुवाइमा फर्किने निर्णय हुने छ।

प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्सहित विभिन्न निकायमा हिस्सा खोजेको, पेसी तोक्दा नियत राखेको, आफूविरुद्धका मुद्दाको सुनुवाइ सारेको, न्यायलयमा देखिएका विकृति तथा विसंगति हटाउन कुनै भूमिका नखेलेको भन्दै कात्तिक १४ गतेदेखि सर्वोच्चका न्यायाधीशहरुले ‘आन्दोलन’ सुरु गरेका थिए ।