वेदको धुनमा फुटबलको उल्लास

वेदको धुनमा फुटबलको उल्लास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मुडुलो टाउकोको बीचमा लामो टुपी । सेता–पहेंला धोती, राता–निला गन्जी । नाङ्गो खुट्टा फुटबलको पछि दौडिँदै गरेका कलिला अनुहार । रुसमा जारी विश्वकप ‘फिबर’ यति बेला पशुपति क्षेत्रस्थित भागवत संन्यास आश्रम एवं गुरुकुलका विद्यार्थीलाई पनि छोएको छ।

पाँच हजार वर्ष पुरानो वैदिक शिक्षा लिँदै गरेका उनीहरुले आधुनिक फुटबल खेलसँग पनि आफूलाई जोडेका छन् । हरेक बिहान वेदको धुनमा रमाउने उनीहरु विद्यालयको पढाइ सकेपछि फुटबलको उल्लासमा रमाउँछन् ।

बिहान शान्ति–शान्ति भन्दै मन्त्र पाठ गर्ने उनीहरु दिउँसो गोल–गोल भन्दै रमाइरहेका छन् ।‘वेदले हामीलाई शान्ति दिन्छ,’ कक्षा १० मा अध्ययनरत उमेश पोखरेलले भने, ‘फुटबलले हामीलाई खुसी दिन्छ ।’ धार्मिक व्यक्तित्वमा शंकराचार्यलाई मन पराउने उनी फुटबलमा रोनाल्डोलाई मन पराउँछन् । ‘जिते पनि हारे पनि रोनाल्डो मन पर्छ,’ उनले भने, ‘त्यसैले अहिले उनकै देशको गन्जी लगाएर खेल्दैछु ।’

उनीहरु हरेक दिन बिहान ५ बजे उठ्छन्, नित्य कर्म गर्छन्, गायत्री मन्त्र जप्छन्, वेद पढ्छन्, हवन गर्छन् । विद्यालयमा परम्परागत ज्ञान र आधुनिक शिक्षा दुवै पढ्छन् । त्यसपछि फुर्सद मिलाएर फुटबल खेल्छन । आश्रममा १० देखि १८ वर्ष उमेरका ४० विद्यार्थी छन्। यो खबर आजको नागरिक दैनिकमा छ ।