भीमदत्तनगर – कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुंदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।
तनहुंको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया शर्मिला परियारलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहां तैनाथ थ्री एन्जल्स नेपालका कर्मचारीले उद्धार गरेका हुन् । दुवैजना काठमाडौंदेखि दिल्ली चल्ने पर्यटक बसमा भारततर्फ जांदै गर्दा चेकजांचका क्रममा गड्डाचौकीबाट उद्धार गरिएको थ्री एन्जल्स नेपाल, गड्डाचौकीमा कार्यरत लक्ष्मी गिरीले जानकारी दिईन् ।
दुवैजनासित राहदानीसमेत रहेकाले सोधपुछ गर्दै जांदा अभिभावकलाई समेत झुक्याएर भारतीय एजेण्टमार्फत दुबई जान हिँडेका रहेछन” गिरीले भनिन् प्रारम्भिक अनुसन्धानमै दुवैजनाले दिल्ली हुंदै दुबई जान लागेको स्वीकार गरे ।” उद्धार गरिएकी गीता यसअघि दुई वर्ष दुबईमा रोजगारीका लागि गइसकेकी महिला हुन् भने शर्मिलाले पनि आफूले साउदी अरब र दुबई गरी छ वर्ष वैदेशिक रोजगारीमा बिताइसकेको बताइन् ।
काठमाडौंमा श्रमको लफडा छ भनेपछि दुबईबाट भारतीय एजेण्टले दिल्ली हुंदै आउन भनेपछि यो बाटो हिंडेका थियौं ।” गीता परियारले भनिन्– भारतीय मोहमद इक्वालले हामीलाई दुबई बोलाउन लागेको हो ।” उनीहरुका अनुसार भारतीय नागरिक इक्वाल दुबईमा स्कूल सञ्चालक हुन् । प्रहरीले दुवैजनाका आफन्तसित सम्पर्क गराइसकेकाले परिवारका सदस्य आएपछि जिम्मा लगाउने जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा दुवै महिलाले आफूहरुलाई श्रीमानले डिभोर्स दिइसकेको भनेका छन् ।” थ्री एन्जल्सका गिरीले भनिन्– “घरमा अभिभावकलाई काठमाडौं जान्छु भनेर हिंडेका रहेछन् ।” पर्यटक बसलाई चेकजांचका क्रममा शंका लागेपछि अनुसन्धान गर्दा दलालमार्फत वैदेशिक रोजगारीमा जान लागेकाले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
त्यसैगरी, मंगलबार नै माइती नेपाल, कञ्चनपुरले दोधारा चादँनी झोलुंगे पुल हुंदै भारत जान लागेकी एक युवतीको उद्धार गरेको छ । झोलुंगे पुल हेर्ने बहानामा महाकाली नगरपालिका हुंदै भारत जान लागेकी सुर्खेतकी १९ वर्षीया युवतीलाई उद्धार गरिएको हो ।
उनलाई भारत लैजान लागेका बर्दियाको गुलरियाका २२ वर्षीय पुष्कर बैलकोटी र २४ वर्षीय प्रकाश बैलकोटीलाई समेत नियन्त्रणमा लिइएको छ । पक्राउपछि युवकद्वयलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ भने युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।




प्रतिक्रिया