काठमाण्डु – नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा बिष्णुकुमार गिरी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै पौडेल/सिटौला समूहका गिरी सभापतिमा विजयी भएका हुन् ।
सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याए भने रिजालले ४ सय ९४ मत प्राप्त गरेका थिए । ९ मत बदर भए । रिजालले यसअघिका सभापति अमर भण्डारीसँग पनि प्रतिस्पर्धा गरेका थिए ।
२०५५ सालमा नेविसंघबाट राजनीति सुरु गरेका गिरीलाई जिल्लामा नयाँ पुस्ताका सालिन र प्रभावशाली नेताका रुपमा लिने उनका प्रशंसकहरू बताउँछन् । जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिबेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
जसअनुसार जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, इश्वर सिंह विष्ट र सचिबमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिबमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका थिए ।
सभापतिको मतगणना चलिरहेको बेला मंगलबार राती संस्थापन समूहका केही कार्यकर्ताले गणनास्थलमा आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास तथा गोली नै चलाउनुपरेको थियो । सो घटनामा दुई प्रहरीसहित ९ जना घाइते भएका छन् । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया