काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । निर्वाचित महाधिवेशन प्रतिनिधिमा संस्थापनइतर पक्ष बलियो देखिएपछि देउवा समस्यामा परेका हुन् ।
हालसम्म ७ मध्ये प्रदेश २ बाहेकका ६ वटा प्रदेशका प्रारम्भिक परिणाम आइरहेका छन् । जसमध्ये सुदुरपश्चिमबाहेकका प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूह बलियो देखिएको छ ।
सभापति देउवाको गृह प्रदेशमा पौडेल पक्षले विगतमा भन्दा सुधार गरेको छ । देउवाको पुख्र्यौली डोटीमा जिल्ला सभापतिको प्रतिस्पर्धामा प्रदीप देउवा तेस्रो भएका छन् ।
बाजुरामा यसअघि पौडेल पक्षले जित हासिल गरिसकेको छ । देउवाको गढ भनिने बैतडीमा पौडेल पक्षकै उम्मेदवार चतुरबहादुर चन्द सभापतिमा निर्वाचित भएका छन् । कञ्चनपुर, कैलाली लगायतका जिल्लामा महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षले विगतमा भन्दा संख्या थप गरेको छ ।
दार्चुलामा पौडेल पक्ष पहिलेदेखि नै बलियो रहँदै आएको थियो । सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा अधिवेशन एकलौटी गरेको भन्दै जिल्ला सभापति सहितका नेताहरु केन्द्रीय कार्यालयमा धर्नामा छन् ।
लुम्बिनी प्रदेशमा पौडेल पक्षले करिब ७० प्रतिशत महाधिवेशन प्रतिनिधि जितेको दावी गरेको छ । लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, प्यूठान, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु र नवलपरासी पश्चिममा पौडेल पक्षले स्पष्ट बहुमतसहित महाधिवेशन प्रतिनिधि जितेको अवस्था छ । गण्डकी प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशाकं कोइरालाले प्रभाव देखाएका छन् ।
नवलपुर, गोरखा, लमजुङ, मुस्ताङ, तनहुँ, लमजुङ र कास्कीमा पौडेल पक्षको वर्चस्व स्थापित भएको छ । गण्डकी प्रदेशमा देउवा पक्ष अन्यत्र भन्दा कमजोर देखिएको छ । बागमती प्रदेशका केही जिल्लामा संस्थापन पक्ष बलियाे देखिएपनि काठमाडौं, चितवन, धादिङ लगायतका जिल्लामा महाधिवेशन प्रतिनिधिमा पौडेल पक्ष अगाडि देखिएको छ ।
मकवानपुर र ललितपुरमा संस्थापन पक्ष बलियो भएपनि काठमाण्डु र चितवनको नतिजाले प्रदेशभरीको क्षतिपूर्ति हुने पौडेल पक्षको दावी छ । प्रदेश २ मा क्षेत्रीय अधिवेशन सुरु भइसकेका छैनन् । त्यहाँ उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षकै वर्चस्व हुने देखिन्छ ।
प्रदेश १ मा डा.शेखर कोइरालाको नेतृत्वमा संस्थापनइतर समूहले अग्रता लिएको छ । सो प्रदेशमा पौडेल नेतृत्वको समूह पहिलो, कृष्णप्रसाद सिटौला नेतृत्वको समूह दोस्रो र देउवा समूह तेस्रो स्थानमा देखिएको छ । प्रदेश १ का केही जिल्लामा देउवा पक्षले सभापति जितेपनि महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षकै अग्रता देखिन्छ ।
वरिष्ठ नेता पौडेलको सचिवालयले विगतभन्दा निकै राम्रो नतिजा आएको जनाएको छ । पौडेलको सचिवालयले तयार पारेको तथ्यांकमा देउवा पक्षको जम्मा ३५ प्रतिशत हाराहारी शक्ति देखिएको छ । रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच आपसमा एकता कायम हुँदा ६० प्रतिशत शक्ति आर्जन गर्ने देखिएको छ ।
‘हाम्रो टिमको कुल शक्ति ६० प्रतिशत देखिएको छ । आन्तरिक एकता कायम गरेर साझा उम्मेदवार दिन सक्यौ भने जुनसुकै अवस्थामा केन्द्रीय महाधिवेशन जित्छौं’, पौडेल पक्षको दावी छ ।




प्रतिक्रिया