काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति विस्तार गर्ने भएको छ । बुधबार काड्ठमाण्डुमा जारी कार्यकारिणी समितिको बैठकले समितिमा १२ जनालाई थप गर्दै समिति विस्तार गर्ने निर्णय गरेको हो ।
कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला पुर्याउन संख्या थप गर्न लागिएको एक नेताले जानकारी दिए । कार्यकारिणी समितिमा १६ जना थप गर्नुपर्ने भए पनि हाललाई १२ जनामात्र थप गर्ने निर्णय भएको ती नेताले बताए ।
त्यस्तै बैठकमा कार्यकारिणी सदस्यहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै कार्यकारिणी सदस्यहरुले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।
मुख्यमन्त्री राउतले केही साता अघि मन्त्री रामनरेश रायलाई प्रदेश २ को सरकारबाट हटाएका थिए । बैठकमा डा.बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर केही नेताले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको पार्टी श्रोतले बतायो ।
उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन् । जसपा नेतृ हिसिला यामीले पार्टीमा विधि अनुशरणको अभाव देखिएको भन्दै प्रदेश सरकारबाट मन्त्री हटाउने कार्य स्वेच्छाचारिकताको उदाहरण भएको बताइन् ।
बैठकमा मुख्यमन्त्री लालबाबु राउतले भने आफ्नो बचाउ गरेका थिए । आइतबारदेखि सुरु भएको जसपाको कार्यकारिणी समितिको बैठक बुधबार समेत जारी छ ।




प्रतिक्रिया