काठमाण्डु – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुको असहमतिलाई टुंग्याउनुपर्ने बताएका छन् । चितवनको नारायणी किनारमा सुरू भएको एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले अहिले देखिएका असहमतिलाई संविधानले निर्धारण गरेको विधिबाटै समाधान गर्नुपर्ने बताएका हुन् ।
संविधानले निर्धारण गरेको विधिलाई सबैले स्वीकार्नुपर्ने बताए । उनले कांग्रेस एमालेमा वैचारिक भिन्नता भएकैले अलग–अलग पार्टी रहेको भन्दै जनताका सवाल, राष्ट्रियता र राष्ट्रहितका विषयमा भने सहमति र सहकार्य हुनुपर्ने बताए । यस्तै उद्घाटन सत्रलाई शुभकामना दिँदै देउवाले लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गरे ।
‘केपी ओलीजी लगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं । हामी जेलमेट पनि हौं । हामीले सँगै दुःख भोगेका हौं । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दुःख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ’, देउवाले भने ।




प्रतिक्रिया