काठमाण्डु – नारायणी नदि किनारमा दशौं महाधिवेशन सत्र सकेर फर्किने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाममा फसेका छन् ।महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारबाट होटल फर्किनेक्रममा उनी टिकौलीमा जाममा फसेका छन् ।
कार्यक्रम सकिएपछि महाधिवेशनमा सहभागि नेता कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड् बढेपछि नेता तथा सर्वसाधारणलाई फर्किन सकस परेको छ ।
कार्यक्रम स्थलबाट बाहिरिने मानिसहरूको भिडका कारण पूर्व पश्चिम राजमार्गको नारायणी पुल, पुलचोक आसपास लगायतका स्थानमा सवारी जाम भएको छ । भिडका कारण राजमार्गमा एम्बुलेन्ससमेत रोकिनु परेको छ । कार्यक्रमका लागि विभिन्न जिल्लाबाट आएका सवारीसाधन रोकिएको स्थानसम्म पुग्न जाने क्रममा भिड बढेको हो ।
स्थानीय प्रशासनले महाधिवेशनलाई लक्षित गर्दै सहभागीहरू सवार गाडीहरूलाई निश्चित क्षेत्रमा पार्किङको व्यवस्था गरेको थियो । प्रशासनले पश्चिम क्षेत्रबाट आएका सवारीलाई गैडाकोटतर्फको नारायणी नदी किनारमा, पूर्वबाट आएका सवारीहरूलाई पारस बसपार्क क्षेत्रमा र काठमाडौँबाट आएकालाई आपटारी क्षेत्रमा पार्किङ अनुमति दिएको थियो ।
आजबाट सुरु भएको दशौं महाधिवेशन अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले आफ्ना लागि नभई देशका लागि बहुमत ल्याउनु पर्ने बताए ।
उनले वर्तमान सरकारलाई लक्षित गर्दै आफूले चुनाव घोषणा गरे पनि अन्य दलहरूले सर्वोच्च अदालतमा हालेको रिट निवेदन माथि अदालतले परमादेश दिँदै त्यसलाई खारेज गरेको बताए । आफुले परमादेशको बाटो नजाऊँ बरु जनादेशमा जाऊँ भने पनि त्यसलाई रोकिएको उनले बताए ।अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त सुनाउँदै आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे ।




प्रतिक्रिया