काठमाण्डु – नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । शुक्रबार चितवनको नारायणी किनारमा भएको महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
उद्घाटन समारोहमा ६ लाख मानिस सहभागी भएको एमाले नेताहरुको दावी छ । उद्घाटन सत्र कार्यक्रम सकिएपछि महाधिवेशनमा सहभागि नेता, कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड भएकाे थियाे।
हालैमात्र पार्टी विभाजनको ताजा चोट खेपेको एमालेले यस महाधिवेशनलाई आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरको रूपमा लिएको थियो । देशभरबाट सहभागी भएका महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुले नारायणी किनार खचाखच देखियो ।
पार्टीलाई विभाजनले ठूलो असर नपरेको देखाउन र महाधिवेनशनलाई भव्य बनाउन एमालेले कुनै कसर बाँकी राखेको छैन । महाधिवेशनमा जनसहभागिता देखाउन देशैभरबाट सयौं सवारीसाधनहरूले मान्छे ओसारेका थिए ।
फलस्वरुप उद्घाटन समारोहमा नारायणी किनारमा जनसागर उर्लियो । चितवनका विभिन्न सात स्थानबाट र्याली निकालिएको थियो भने नारायणी पुलमासमेत थेगिनसक्नु मानिसहरू भेला भएका थिए । उद्घाटनस्थलमा मानिसहरू अटाइनअटाइ थिए नै, २ हजार भन्दा बढी बसमा आएका सहभागीहरु कार्यक्रमस्थल प्रवेश नै नगरी फर्किनु परेकाे थियाे ।
अहिलेसम्म कुनै पनि राजनीतिक सभामा निर्माण गरिएकोमध्ये विशाल र आकर्षक मञ्च एमालेले बनाएको हाे । त्यसो त, चार घण्टा प्रयोग हुने मञ्च यति खर्चिलो बनाएकोमा आलोचना पनि खेप्नुपरेको छ एमालेले । यद्यपी आजको जनसहभागिताबाट एमाले नेतृत्व पंति भने निकै उत्साहित देखिएको छ । पार्टीलाई विभाजनको ठूलो असर नपरेको अर्थमा नेताहरूले यो सहभागितालाई व्याख्या गरेका छन् ।
त्यस्तै एमालेले उद्घाटन समारोहमा नयाँ प्रयोग गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोटर थिचेर झण्डोत्तलन गर्दै महाधिवेशनको उद्घाटन गरेका थिए । ओलीले रिमोट थिच्दा नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया–हतौडा अंकित झण्डा एकसाथ स्वचालितरुपमा माथि उठेको दृष्य सहभागीका लागि नौलो थियो ।
कार्यक्रमको मञ्चमा एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एकसाथ झुल्किएका थिए । लामो समयदेखि एउटै मञ्चमा नदेखिएका दुई नेताले सँगै मञ्चमा उभिएर अभिवादन गरेका थिए ।
ओली र देउवा लामो अन्तरालपछि एक साथ देखिएका हुन् । देउवा प्रधानमन्त्री बनेयता उनीहरूबीच भेट हुन सकेको थिएन । देउवाले बोलाएको सर्वदलीय बैठक पनि ओलीले बहिस्कार गरेका थिए । राजनीतिक विवादका कारण ओली र देउवाको सम्वन्धमा छाएको चिसोपनलाई आजको दृष्यले बिर्साएको छ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ भने उपस्थित भएनन् । प्रचण्डलाई निम्तो गरिए पनि उनले पार्टीका स्थायी कमिटी सदस्य लिलामणी पोखरेललाई प्रतिनिधिको रूपमा पठाएका थिए ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि सहभागी थिए ।
उनीहरुले महाधिवेशन सफलताको शुभेच्छा व्यक्त गरे । एमाले विभाजनबाट बनेको दल नेकपा (एकीकृत समाजवादी) पार्टीलाई भने निम्तो गरिएको थिएन ।























प्रतिक्रिया