काठमाण्डु – नेकपा एमालेमा सचिव पदका लागि ९ जना नेताहरुले उम्मेदवारी दिने तयारी गरेका छन् । पदाधिकारी चयन सहमतिमा गर्ने चर्चाका बीच ९ जना नेताहरु सचिवमा भिड्ने भएका हुन् ।
प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य महेश बस्नेत, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ, पार्वत गुरुङ, एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेल, भानुभक्त ढकाल, कर्ण थापा, गोकुल बाँस्कोटाले उम्मेदवारी दिने तयारी गरेका हुन् ।
एमाले पोलिटब्यूरो सदस्य समेत रहेका पूर्व मुख्यमन्त्री राईले आजबाट सुरु भएको दशौं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताए । त्यस्तै महेश बस्नेत र कार्यालय सचिव तामाङले पनि यसअघि नै सचिवमा उम्मेदवारी दिने बताइसकेका छन् ।
गोकुल बाँस्कोटा, पार्वत गुरुङ र कर्णालीका सहसंयोजक कँडेलले पनि सचिवमै उम्मेदवारी दिने चाहाना भएको बताए । त्यस्तै सचिव योगेश भट्टराईले पनि पुन एकपटक सचिवमै दाहोरिने इच्छा व्यक्त गरेका छन् ।
त्यस्तै केन्द्रीय सदस्य कर्ण थापाले आफु सचिवको लागि योग्य भएको र केपी ओलीको नेतृत्वलाई सफल बनाउन आफु सचिव पदमा उम्मेदवारी दिन लागेको बताए । अर्का पोलिटब्यूरो सदस्य ढकालले पनि सचिवमा उम्मेदवारी दिन लागेको बताए । उनले कार्यकर्ताको भावनालाई सम्बोधन गर्न सचिवमा आफुले दावी गर्ने बताए ।
नेताहरु महाधिवेशन उनले आफुसँग अझै १५ वर्ष सक्रिय राजनीति गर्ने सुविधा रहेको भन्दै उनले सचिवमै दोहोरिने चाहाना भएको बताए । नेकपा एमालेमा १५ जना पदाधिकारी हुने व्यवस्था छ, जसमा ७ जना सचिव चुनिनेछन् ।
यसपटक प्यानल बनाएर चुनाव लड्ने नदेखिएपनि निर्धारित पदभन्दा पनि बढी आकांक्षी देखिएपछि उनीहरुको व्यवस्थापनमा सकस देखिएको छ । महाधिवेशनको मुखमा आइपुग्दासम्म ‘पर्ख र हेरमै’ बसेका नेताहरु महाधिवेशनस्थल नपुग्दै धमाधम उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।
सबै पदमा आकांक्षीहरु धेरै देखिएका छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको भएपनि हालसम्म के हुने भन्नेबारे अन्योल कायमै छ ।




प्रतिक्रिया