काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकले जनहितका कामलाई प्राथमिकताका साथ सञ्चालन गरेको छ । यसै क्रममा नेपाली शान्ति सैनिकको टोलीले त्यहाँका महिला तथा किशोरीहरूका लागि पुनर्प्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरेको छ ।
श्रीजंग गण (शान्ति सेना) एघारौं डफ्फाका ‘फिमेल इङ्गेजमेन्ट टीम’ ले लेक स्टेटस्थित मापेरमा स्थानीय निकायसँग समन्वय गरी महिला तथा विद्यालयका बालबालिकालाई लक्षित गर्दै मंसिर १४ गते मेन्सट्रुअल हेल्थकेयर सम्बन्धी कक्षा सञ्चालन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएकाे छ ।
सो अवसरमा फिमेल इङ्गेजमेन्ट टीमले तयार पारेको ‘रियुजेवल सेनिटरी प्याड’ वितरण गर्नुका साथै उक्त प्याड तयार गर्ने विधिबारे जानकारी समेत गराइएको छ ।कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामान तथा कोभिड–१९ सुरक्षा सामग्रीसमेत वितरण गरिएको छ ।
नेपाली शान्ति सैनिकहरुले द्वन्दग्रस्त मुलुकहरुको अति संवेदनशील ईलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलावा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका विभिन्न मानवीय सहयोग तथा सचेतनामूलक कार्यहरुले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरुबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने नेपाली सेनाले जनाएकाे छ ।





प्रतिक्रिया