काठमाण्डु – नेकपा माओवादी केन्द्रकाे केन्द्रीय विभागले पूर्णता पाएकाे छ । पूर्व न्यायाधीशदेखि नेपाल बार एसोशिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसम्मले जिम्मेवारी पाएका छन् ।
यतिमात्र होइन प्रहरीको फरार सूचीमा रहेका कालीबहादुर खामलाई प्रचण्डले राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी दिएपछि राजनीतिक वृत्तमा तरंक पैदा भएको छ ।
व्यापारी रामहरी श्रेष्ठको हत्याकाण्डमा संलग्न भएको आरोप लागेका खामलाई प्रहरीले खोजिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा उनको विषय निकै चर्चामा रहेको थियो ।
को हुन् काली बहादुर खाम ?
तत्कालीन नेकपा (माओवादी) को सशस्त्र युद्धमा लडाकु रहेका खाम माओवादी शान्ति प्रकृयामा आएपछि चितवन शक्तिखोरमा स्थापना गरिएको तेश्रो डिभिजनका कमाण्डर हुन् । पहिलो संबिधानसभाको निर्वाचनपछि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याको मुख्य योजनाकारका रुपमा खाम विरुद्ध मुद्धा छ । उनी प्रहरी र अदालतको नजरमा हालसम्म फरार छन् ।
पार्टीमा बिविध उपनामले चिनिने खाम सहित डिभिजनका बिग्रेड कमाण्डर गोविन्द बहादुर बटाला ‘जिवित’ केशव अधिकारी ‘रघु’ गंगा बहादुर थापा ‘एटम’ र अर्जुन कार्की श्रेष्ठको हत्याको आरोपमा जोडिएका नाम हुन् । यस मध्येमा बटालालाई २०७६ फागुन १८ गते सवोच्च अदालतले सफाई दिई सकेको छ भने श्रेष्ठको शव गाडीमा राखेर व्यवस्थापनमा सघाएको अभियोग लागेका कार्कीलाई २० रुपैयाँ जरिवाना लिएर सफाई दिएको छ ।
जनमुक्ति सेनाको डिभिजन कमाण्डरका साथै तत्कालीन एकिकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य रहेका खाम फरार रहेकै अवस्थामा २०६७ असारमा चिनियाँ व्यापारी लुटपाटमा समेत संलग्न भएको प्रहरीले बताएको थियो । २०६७ असार २६ गते काठमाण्डुको गोगंबुस्थित नवमित्र गेष्ट हाउसमा बसेका तीन जना चिनियाँ व्यापारीलाई यार्सागुम्बा बेच्ने भन्दै खामको समूहले लुटेको महानगरीय प्रहरी परिसरका तत्कालीन प्रमुख रमेश खरेलले बताएका थिए ।
उक्त लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले रुकुम ज्याङका गणेशबहादुर मल्ल, हुकामका सौगात बुढामगर, जीतेन्द्र बुढा मगर, कर्म शाही घर्ती मगर, पाल्पा मर्स्याङका लालबहादुर राना, तनहुँ, नरभन्ज्याङका मिलनसेन ठकुरी, दाङ, घोराहीका मधुसूदन शर्मा र नुवाकोट, लिखुका अशोक खातीलाई पक्राउ गरे पनि शक्तिकै आडमा खामले भने उन्मुक्ति पाएका थिए ।
तत्कालीन समयमा प्रहरीले बताए अनुसार खामका सहयोगी असार २५ मा चिनियाँ व्यापारी माखुम दुख, ममानी र ममालीको साथमा रहेको २६ लाख २० हजार लुटेर मोटरसाइकल र गाडीमा भागेका थिए ।
एक दिनअघि लुटेराले चिनियाँ व्यापारीलाई यार्चाको नमुना देखाएर साँझ विन्ध्यवासिनी होटलमा बोलाएका थिए । चिनियाँ व्यापारी नआएपछि लुटेराले यार्चा खामकै कोठामा राखेका थिए । उनीविरुद्ध सरकारी छाप दस्तखत किर्ते, चोरी डकैती र हातहतियार खरखजनासम्बन्धी मुद्दासमेत छन् ।




प्रतिक्रिया