कांग्रेस महाधिवेशन : तनहुँबाट पदाधिकारी र केन्द्रीय सदस्यमा दर्जन आकांक्षी

कांग्रेस महाधिवेशन : तनहुँबाट पदाधिकारी र केन्द्रीय सदस्यमा दर्जन आकांक्षी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी र सदस्य पदमा तनहुँबाट दर्जनौंले आकांक्षा देखाएका छन् । सभापतिदेखि सदस्य पदका आकांक्षी तनहुँका हेभिवेट नेताहरू छन् । केहीले जिल्लामा आफ्नो उम्मेदवारी घोषणा गरेर काठमाण्डु पुगेका छन् । महाधिवेशन प्रतिनिधि र नेतालाई भेट्न आकंक्षीलाई भ्याइनभ्याई छ ।

तनहुँका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । उनले आफ्नो समूहका अन्य आकांक्षीसँग यसपालि आफू सभापतिको उम्मेदवार बन्नका लागि छलफल गरिरहेका छन् । उनी नै सभापति बन्ने या अरू कुनै टुंगो लागेको छैन ।

कृष्णप्रसाद सिटौला समूहका युवा नेता प्रदीप पौडेलले महामन्त्री पदमा उठ्ने घोषणा महिना दिन अगावै गृह जिल्लामा आयोजित एक कार्यक्रममा गरेका थिए । पौडेलले काठमाण्डुस्थत पानीपोखरीमा सचिवालय खोलेर प्रचारप्रसार गरिरहेका छन् । काठमाण्डु पुगेका पौडेल पक्षीय तनहुँका नेता कार्यकर्ताले प्रदीपलाई जिताउन अभियान थालेका छन् ।

देउवा समूहका नेता शंकर भण्डारीले यही पद भनेर नखुलाए पनि उनी पदाधिकारीका एक आकांक्षी हुन् । यस्तै, गोविन्द भट्टराईले सहमहामन्त्री पदमा उठ्ने जनाएका छन् । केन्द्रीय सदस्यमा गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोवाटे विक, ध्रुव वाग्ले, रामचन्द्र पोखरेल, दीपक भट्टराईले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आनन्दराज त्रिपाठी, रेसम गुरुङ, चिनु पोखरेल, प्रकाश पन्थ र खरसिंह दरै पनि केन्द्रीय सदस्यका दाबेदार हुन् । प्राध्यापक डा. कृष्णप्रसाद गौतमले पनि प्यानलगत हिसाबले उम्मेदवारी घोषणा नभए आफूले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताउँछन् ।