काठमाण्डु – नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको मतदानको समय फेरि थप गरिएको छ । सोमबार मध्याह्न १२ बजेबाट सुरु भएको मतदान राति ९ बजेसम्मका लागि तय भएको भए पनि तोकिएको समयमा मतदान नसकिने भएपछि थप एक घण्टा समय बढाइएको हो ।
कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार ९ बजेसम्मलाई निर्धारण गरिएको मतदानको सयम १० बजेसम्मलाई बढाइएको छ । महाधिवेशनमा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
काँग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।
मतदान गर्न एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।




प्रतिक्रिया