काठमाण्डु – राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई तीन पृष्ठको पत्र पठाएका छन् । गृहजिल्ला मकवानपुर हेटौडामा रहेका थापाले सोमबार नवनिर्वाचित अध्यक्ष लिङदेनलाई पत्र लेख्दै महाधिवेशनका बेला निर्मल निवासले गरेको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् ।
उनले राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्न पनि लिङ्देनलाई आग्रह गरेका छन् । यस विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि थापाले जिकिर गरेका छन् ।
‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाईं पनि हुनहुन्न । तपाईंको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई पनि यो प्रवृत्तिको शिकार अवश्य हुनु हुनेछ । पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ,’ थापाले भनेका छन्, ‘पार्टीभित्र बहस गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ । यस कार्यमा मेरो पूर्ण सहयोग हुनेछ । यस सम्बन्धमा केन्द्रीय कार्यसमितिले गर्ने बहुमतको निर्णय मेरो लागि शिरोधार्य हुनेछ’, यो विषयको निराकरण नभएसम्म पार्टीले कुनै गति लिन सक्दैन ।’







प्रतिक्रिया