काठमाण्डु – नेकपा माओवादी केन्द्रले संसदीय बोर्डको गठन गरेको छ । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो ।
बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ । त्यस्तै बैठकले आज सुरु हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन समेत दिएको छ ।
त्यसैगरि बैठकले सर्वदलीय बैठक बसेर संसदीय गत्यावरोध हटाउन आवश्यक पहल गरिने निर्णय पनि गरेको छ । संघीय संसदको दुवै सदनको बैठक मंगलबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।
बैठकमा सांसदहरूले उठाएका विषयमा दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए ।प्रचण्डले अमेरिकी परियोजना एमसीसीबारे पनि धारणा राखेका थिए ।
सांसद रेखा शर्माका अनुसार प्रचण्डले गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नै नहुने र संशोधनबिना अनुमोदन पनि नहुने बताएका छन् । माओवादीले एमसीसीबारे पुरानै अडान दोहोर्याएको छ ।




प्रतिक्रिया