काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व छनोटका लागि चुनाव दोस्रो चरणमा प्रवेश गरेको छ । काठमाण्डुमा सोमबार भएको मतदानबाट सभापति पदका पाँच जना उम्मेदवारहरुले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि चुनाव दोस्रो चरणमा प्रवेश गरेको हो ।
पहिलो चरणमा भएको मतदान अन्तर्गत सबै भन्दा बढी शेरबहादुर देउवाले २ हजार २५८ मत प्राप्त गरेका थिए । उनले पाएको मत भनेको ४८.२३ प्रतिशत हो । उनका अर्का प्रतिस्पर्धी डा. शेखर कोइरालाले १ हजार ७२९ अर्थात २६.९३ मत पाएका छन् । देउवाले नेता कृष्ण प्रसाद सिटौलासँग गठबन्धन गरेका थिए । तर पहिलो चरणमा सभापति पदमा जित हासिल गर्न भने देउवा सफल भएनन् ।
उनलाई जित हासिल गर्न ८३ मतको कमी भएको हो । यसभन्दा अघिको १३ औँ महाधिवेनमा पनि चुनाव दोस्रो चरणमा प्रवेश गरेको थियो । त्यतिवेला देउवा गठबन्धन नबनाइकन पहिलो चरणको चुनावमा उत्रिएका थिए । हाल भने देउवा सिटौलासँग मिलेका छन् । १४ औँ महाधिवेशनमा हेर्दा वर्तमान पार्टी सभापति देउवा पहिलो चरणको मतदानमा १३ औँ महाधिवेशन भन्दा कमजोर देखिएका छन् ।
२०७२ फागुन २३ गते १३ औँ महाधिवेशन अन्तर्गत भएको पहिलो चरणको मतदानमा कुल खसेको ३१४८ मत मध्ये देउवाले १ हजार ५६४ अर्थात ४९.६८ प्रतिशत मत प्राप्त गरेका थिए । उनलाई जितका लागि ११ मत मात्रै कमी भएको थियो । उनका प्रतिस्पर्धी रामचन्द्र पौडेलले ११६० मत पाएका थिए ।
त्यतिबेला पहिलो चरणमा ३२४ मत पाएका सिटौलाले उनलाई दोस्रो चरणमा सहयोग गरेका थिए । त्यसपछि भने उनले सहज जित निकालेका थिए । फागुन २४ गते सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा ३१६१ मतदातामध्ये ३१४० मत खसेको थियो । त्यसमध्ये २२ मत बदर भएको थियो । जसमध्ये देउवाले १८२२ मत पाए । पौडेलले भने १२९६ मत पाएका थिए ।
१४ औं महाधिवेशनको पहिलो चरणको निर्वाचनमा देउवाले कुल खसेको ४ हजार ६८१ मत मध्ये २२५८ मत पाएका छन् । उनले पाएको मत ४८.२३ प्रतिशत हो । १३ औँ महाधिवेशनको पहिलो चरणको चुनावमा जित हासिल गर्न ११ मतको मात्र कमिएको थियो भने हाल भने ८३ मतको कमी भएको छ । १३ औँ महाधिवेशनको नतिजा हेर्दा देउवा पहिलो चरणको चुनावमा निकै कमजोर देखिएका छन् । १४ औँ महाधिवेशनमा देउवा पहिलो चरणको चुनावमा कमजोर देखिए पनि दोस्रो चरणमा उनकै जित हुने पक्का पक्की नै भएको छ ।
सभापतिकै उम्मेदवार प्रकाशमान सिंहले दोस्रो चरणमा देउवालाई सघाउने बताएका छन् । पहिलो चरणको चुनावमा नेता सिंहले ३ सय ७१ अथर्ता ७.९२ प्रतिशत मत प्राप्त गरेका छन् । यता सभापतिकै अर्का उम्मेदवार विमलेन्द्र निधिले पनि देउवालाई सघाउने खुलासा गरिसकेका छन् । नेता सिंह र निधिले दोस्रो चरणको चुनावमा सघाउने भएपछि देउवाको जित पक्का भएको हो ।
हिजोसम्म नेता सिंह र निधि दास्रो चरणको चुनावमा सबै मिलेर देउवालाई पराजित गर्ने पक्षमा खुलेका थिए । सोमबार चुनाव दोस्रो चरणमा जाने पक्का पक्कि भइसकेपछि देउवा नेता सिंह र निधि भेट्न पुगेका थिए । देउवासँगको छलफलपछि दोस्रो चरणको चुनावमा देउवालाई सघाउने बचनसमेत दिइसकेका छन् । यता नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी कल्याणकुमार गुरुङले पनि सभापति देउवालाई समर्थन गर्ने भएका छन् ।
सभापतिको दोस्रो चरणको मतदानमा आफूले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए । ‘अहिले हामी सबै साथीभाइ सँगै छौं । प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सभापतिज्यूलाई समर्थन गर्ने निर्णय गर्नुभएछ । त्यसैले हामीले पनि दोस्रो चरणको मतदानमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको छ,’ गुरुङले भने ।




प्रतिक्रिया