शेखरलाई भोट माग्दै गगनले भने : विवेकपूर्ण निर्णय गर्नूस्

शेखरलाई भोट माग्दै गगनले भने : विवेकपूर्ण निर्णय गर्नूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई जिताउन महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

थापाले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसको रुपान्तरण अहिलेको नेतृत्वबाट सम्भव नभएको भन्दै कोइरालालाई मतदान गर्न अपिल गरेका हुन् ।

सोमबार भएको निर्वाचनबाट सभापतिमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नपाए पनि आज पुनः दोस्रो चरणको निर्वाचन हुँदैछ । सभापति पदका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । त्यसमध्ये सबैभन्दा बढी मत पाउने देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ ।

सिंह, निधी र गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गर्ने घोषणा गरेपछि थापाले कोइरालालाई मतदान गरी विजयी बनाउन अपिल गरेका हुन्। थापा कोइरालाको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् ।

‘आज निर्णय गर्ने बेला आएको छ, तपाईंको एक भोट आज यो मतदानको लाइनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग जोडिएको छ । तपाईंको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्तान विन्दु हुनेछ । एक पटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरुको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुनः हार्दिक अपिल गर्दछु ।’