काठमाण्डु – माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रदेश सम्मेलन पदाधिकारीको घोषणा नगरेर नै सम्पन्न भएको छ । दुई दिनका लागी आयोजना गरिएको सम्मेलनमा नेतृत्वमा सहमती नहुंदा चार दिनसम्म चलेको थियो । तर,चार दिनसम्म पनि पदाधिकारी नियुक्त नगरी सम्मेलन सम्पन्न भएको हो ।
माओवादीले मंगलबार राति बिवादका विच २ सय २३ जनाको प्रदेश समिति घोषणा गरेको छ । सुदुरपश्चिममा सबैभन्दा बढी कंचनपुरको बेदकोट नगरपालिकामा बिवाद भएको छ । बेदकोटमा सहमति नहुंदा सम्मेलनमा बिबाद भएको हो । सहमति हुन नसकेको ठाउंलाई खाली राखिएको छ ।
प्रदेश समितिका सदस्य समेत रहेका र प्रदेश सचिवको दावी गरिरहेका ओमविक्रम भाटको नाममा सहमति नभएको बताइएको छ । भाटलाई प्रदेशमा ल्याउने विषयमा उनकै नगरपालिकामा बिवाद भएको छ । प्रदेश समितिका सदस्यहरुको सपथ भने मंगलबार सांझ नै गरिएको छ । मापदण्ड विना प्रदेश सदस्यहरु चयन गरिएको भन्दै प्रतिनिधीहरुले विरोध जनाएका छन् ।
सुदूरपश्चिम प्रदेश सम्मेलन मार्फत एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने तयारी थियो ।
तर, प्रदेश सदस्य चयनमा नै माओवादीभित्र बिवाद देखिएको छ । हलभित्र बिवाद हुंदा वाइसिएलका कार्यकर्ताहरुले अखिल क्रान्तिकारीका सचिव मदन भुलमाथी हातपात समेत गरेका छन् ।
माओवादीमा प्रदेश अध्यक्षका लागी शरदसिंह भण्डारी,नेपबहादुर चौधरी,विरमान चौधरी,हरि चौधरी र सन्तोष धामीलगायत प्रतिस्पर्धामा छन् ।





प्रतिक्रिया