काठमाण्डु – प्रदेश २ को प्रदेशसभा बैठक आज बुधबार बस्दै छ । प्रदेश २ को आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारले ल्याएका दुईवटा अध्यादेश पेस हुने बताइएको छ ।
प्रदेश सरकारले हालै कृषि विश्वविद्यालय र प्राविधिक शिक्षा सम्बन्धी अध्यादेश ल्याएको थियो । ती अध्यादेश बुधबारको बैठकमा पेस हुने तयारी गरिएको हो । यस्तै प्रदेशसभाको नाम पनि प्रस्ताव गर्ने तयारी भएको छ ।
आजको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रबारे सभालाई जानकारी गराउने र दलका नेताहरूले अधिवेशनको शुभकामना, प्रदेशको नाम प्रस्ताव र राजधानीबारे छलफल हुने कार्यसूची रहेको प्रदेससभा सांसद सचिवालयले जनाएको छ ।
प्रदेश २ मा गठबन्धनको सरकारले पूर्णता पाएपछि पहिलोपटक आह्वान भएको अधिवेशनमा प्रदेशसभाबाट पारित विधेयकमा रहेका त्रुटीहरू संशोधन र प्रदेशको नाम तथा राजधानी टुंगो लगाउने सरकारले तयारी गरेको छ ।
त्यस्त हालसम्म पनि प्रदेश २ को नामाकरण र राजधानीको टुंगो लाग्न सकेको छैन । प्रदेशसभामा नाम र राजधानीको प्रस्तावमा बहुमत प्राप्त नहुँदा प्रस्ताव असफल भएको थियो । प्रदेशसभाको छैठौं अधिवेशनमा दोश्रोपटक नाम र राजधानीको प्रस्ताव ल्याइएपनि पनि प्रदेशको नाममाथिको प्रस्तावमा छलफल हुन सकेको छैन ।
प्रदेश सरकारसँग बहुमत नहुँदा पहिलोपटकको नाम र राजधानीको प्रस्ताव असफल भएको थियो । तर यसपटक जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा (एस), माओवादी केन्द्र सहभागी भएपछि सरकारलाई दुईतिहाइ भन्दा बढी समर्थन छ । प्रमुख प्रतिपक्षी दल बनेको लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेश र जनकपुरधाम राजधानीको पक्षमा छ ।




प्रतिक्रिया