नेविसंघबाट राजनीति सुरू गरेका पूर्णबहादुर कांग्रेसमा शक्तिशाली बन्दै

नेविसंघबाट राजनीति सुरू गरेका पूर्णबहादुर कांग्रेसमा शक्तिशाली बन्दै


काठमाण्डु – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का थप शक्तिशाली बनेका छन् । महामन्त्री खड्का १४ औँ महाधिवेसनमा उपसभापति पदमा निर्वाचित भएसंगै उनि पार्टीमा थप शक्तिशाली बनेका हुन् ।

१३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका खड्कालाई पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री मनोनीत गरेका थिए । देउवाका दाइने हात भएर काम गरेका खड्का अहिलेसम्म विवादमा नपर्ने नेतामध्ये पर्छन् ।

०७४ मा खुमबहादुरको निधनपछि देउवाले उनलाई २१ बैशाख, ०७५ मा महामन्त्रीमा मनोनीत गरेका थिए । अब पार्टीको उपसभापतिमा निर्वाचित भएपछि खड्का कांग्रेसमा झन् शक्तिशाली बनेका छन् ।

पार्टी सभापति देउवाका विश्वास पात्र मानिएका खड्कालाई देउवाले महत्वपूर्ण जिम्मेवारी दिएका छन् । सरकारको साझा कार्यक्रम तय गर्न बनेको सत्ता गठबन्धनको कार्यदलको संयोजक पनि देउवाले खड्कालाई नै बनाएका थिए ।

त्यस्तै कांग्रेसकै महाधिवेशनमा क्रियाशिल सदस्यता छानबिन समितिको जिम्मेवारी पनि खड्काले नै पाएका थिए । सभापति देउवाले आफ्नो अनुपस्थितिमा गर्नुपर्ने प्राय: निर्णयको जिम्मेवारी पनि खड्कालाई दिने गरेको एक नेताले बताए ।

को हुन् खड्का ?

२०१० सालमा सुर्खेतमा जन्मिएका खड्का ०४५ सालदेखि नै सक्रिय राजनीतिमा छन् । उनका बुवा जिल्ला पञ्चायतको उपसभापति थिए, त्यसैले उनको घरमा राजनीतिक माहोल थियो । माध्यमिक शिक्षापछि नेपालगन्ज र काठमाण्डुबाटै उच्च शिक्षा हासिल गरेका खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनी केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म भए । ०३६ सालको जनमतसंग्रह र ०४६ सालको आन्दोलनमा उनको सक्रिय भूमिका रह्यो । राजनीतिक आन्दोलनकै क्रममा पटक–पटक गरेर ५ महिना हिरासतमा परेका खड्का बहुदल स्थापनापछि तत्कालिन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईका प्रिय पात्र थिए ।

भट्टराइकै स्नेहमा खड्का २०३४ सालमा सुर्खेत काँग्रेसको सभापति समेत बनेका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए । २०३६ सालमा खड्का सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर निर्वाचित भए । जिल्ला अदालत सुर्खेतले मेयर भएको ६ महिनामै उनलाई अपदस्थ गरिदिएको थियो । खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट चार पटक सांसदमा विजयी बने भने एकपटक पराजित भए ।

२०४८, २०५१, २०५६ मा उनी प्रत्यक्षतर्फबाट चुनाव जितेर सांसद बनेका भएका थिए । २०६४ सालमा उनी समानुपातिक सांसद बने । २०७० सालमा भएको चुनाव जितेका खड्का २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए । पटक पटक विभिन्न मन्त्रालय सम्हालेको अनुभव भएका खड्का १४ औँ महाधिवेसनबाट उप सभापति पदमा निर्वाचित भएका छन् । देउवाले आफु पछि उत्तराधिकारीका रुपमा खड्कालाई नै अघि सार्ने विश्लेषण हुन थालेको छ ।