काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली क्रिकेट खेलाडीहरूमाथि गरिएको कारबाहीबारे ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रधानमन्त्री देउवालाई प्रचण्डले बालुवाटारमा भेटेर खेलाडीहरुमाथि गरिएको कारबाहीको ध्यानाकर्षण गराएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
यसअघि नेपाल क्रिकेट संघ (क्यान) को बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो ।
मल्ल र ऐरीसहित अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय भएको थियो ।
यस्तै भेटका क्रममा प्रतिनिधिसभा बैठक सुचारू गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको स्वकीय सचिव दाहालले उल्लेख गरेकी छन् ।
‘सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो,’ उनले भनेकी छन्, ‘सोही अवसरमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।’




प्रतिक्रिया