सर्वदलीय बैठकमा नजाने एमालेको निर्णय

सर्वदलीय बैठकमा नजाने एमालेको निर्णय


काठमाण्डु – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमालेले नजाने निर्णय गरेको हो ।

संसदमा जारी गतिरोध अन्त्य, एमसीसीलगायत समसामयीक विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सरकारले औपचारिकता मात्र पूरा गरेको भन्दै सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय भएको बताए ।

उनले पार्टीलाई कुनै सल्लाह नै नगरी बैठक बोलाएको पनि बताए । ‘औपचारिकताका लागि मात्र बैठक बोलाइएको हो । सरकारमा गम्भिरता र जिम्मेवारीपन नै छैन । त्यसैले त्यस्तो बैठकमा जानुको कुनै अर्थ छैन । हामी जाँदैनौं, ’ उनले भने ।
नेम्वाङले एमालेले रहरले नभई बाध्यतामा सदन अवरुद्ध गर्नुपरेको बताए । अहिले सरकार भित्रै र प्रमुख प्रतिपक्ष एमाले तथा अन्य दलभित्र एमसीसीको विषयमा फरकफरक धारणा आइरहेको छ । एमालेले विगत लामो समयदेखि पार्टी विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका रहेको भन्दै उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आइरहेको छ ।