बिमस्टेक राष्ट्रबीचको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी

बिमस्टेक राष्ट्रबीचको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी


काठमाण्डु– बिमस्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी भएको छ । क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य मुलुकका सेनाहरुको सैन्य अभ्यास सोमबारछ भारतको पुणेमा सुरु भएको हो । प्यानेक्स २१ नाम दिइएको उक्त सैन्य अभ्यासको उदघाटन भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरभाणेले गरेका छन् ।

सैन्य अभ्यासमा बिमस्टेक सदस्य मुलुकहरु भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका सैनिकहरु उपस्थिती छ । उक्त सैन्य अभ्यासमा नेपाल समेत पर्यवेक्षकको रुपमा सहभागी भएको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लव पौडेलले सैन्य अभ्यासमा नेपाल पर्यवेक्षका रुपमा सहभागी भएको बताए ।

अभ्यासमा दिल्लीस्थित सैनिक सहचारी महासेनानी रामचन्द्र कार्की र काठमाण्डुबाट महासेनानी रोज राणा सहभागी भएका छन् ।

तिन दिन लामो चल्ने सैन्य अभ्यासमा प्राकृतिक विपत्तिको सामना गर्न बिमस्टेक सदस्य मुलुकबीच संयुक्त संयन्त्र निर्माण गर्ने र क्षेत्रीय सहकार्यलाई अघि बढाउने उद्देश्य राखिएको छ ।

बिमस्टेक मुलुकहरुबीच गत वर्ष भएको संयुक्त सैनिक अभ्यासमा नेपाली सहभागी भएको थिएन । नेपालको सहभागितालाई लिएर विवाद भएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सैन्य अभ्यासमा सहभागी नहुन सेनालाई निर्देशन दिएका थिए ।

प्राविधिक र आर्थीक सहायताका लागी बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाएको भन्दै त्यसमा सहभागीता विषयलाई लिएर प्रश्न उठेको थियो ।

अभ्यासको समापनमा तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुने कार्यक्रम थियो । त्यसका साथै नेपालबाट पांच जना सैनिक अधिकृत र २५ जना अन्य दर्जाका अधिकारी सहभागी हुने कार्यक्रम भएपनि अन्तिममा स्थगित भएको थियो ।