प्रदेश २ कांग्रेस अधिवेशन : यौनकाण्डमा मुछिएका यादव देउवाका उम्मेदवार

प्रदेश २ कांग्रेस अधिवेशन : यौनकाण्डमा मुछिएका यादव देउवाका उम्मेदवार


काठमाण्डु – नेपाली कांग्रेसले प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेदवार बनाउने भएको छ । देउवा पक्षले रौतहट कांग्रेस सभापति कृष्ण यादवलाई प्रदेश नम्बर २ को सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रदेश २ मा आज मङ्गलबारदेखि अधिवेशन सुरु हुँदैछ । प्रदेश अधिवेशन गराउन कांग्रेसले केन्द्रीय सदस्य रमेश रिजाललाई संयोजक तोकेको छ । प्रदेश अधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता र बुधबार मतदान हुनेछ । यादव १३ औं महाधिवेशनबाट रौतहट सभापतिमा चयन भएका थिए ।

संस्थापन पक्षबाट केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँण, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू रमेश रिजाल, आनन्द ढुंगाना, सुरेन्द्रराज पाण्डे, उदयशम्शेर राणा, रामहरि खतिवडाले यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

यस्तै विमलेन्द्र निधि निकट रामसरोज यादव पनि सभापति पदमा उठ्ने भएका छन् । प्रदेश २ संसदीय दलका नेता र भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका रामसरोजलाई नेता शेखर कोइराला पक्षबाट पनि समर्थन जुटाएर प्रदेश सभापति उम्मेदवार बनाउने तयारीमा निधि छन् ।

प्रदेश अधिवेशनबाट उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्यहरू चयन हुनेछन् ।प्रदेश २ अधिवेशनमा एक हजार ९ सय ८० मतदाता छन् ।

यौनकाण्डमा मुछिएका देउवाका उम्मेदवार

कृष्ण यादव १४ वर्षअघि काठमाण्डुको महाराजगञ्ज नजिकैको एक होटलबाट रंगेहात पक्राउ परेका थिए । २०६५ फागनु २० गते महाराजगञ्जस्थित कान्तिबाल अस्पताल पछाडिबाट रंगेहात पक्राउ परेका यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन् ।

त्यतिबेला रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार भएका यादवसहित ३३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको २ दिनपछि उनी छुटेका थिए ।

त्यसबेला नेपाली कांग्रेसका नेताहरूको आग्रहमा तत्कालीन गृहमन्त्री बामदेव गौतमको निर्देशनमा यादव छुटेका थिए ।चारित्रिक हिसाबले बिबादास्पद उनै यादवलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश नं २ को सभापतिमा उठाउने तयारी गरेका छन् ।

सभापति देउवाले बिबादास्पद छवीका यादवलाई उम्मेदवार बनाउने प्रयास गरेपछि प्रदेश नं. २ का देउवा समर्थकहरू समेत उनको बिरुद्ध लागेका छन् ।

प्रदेश राजधानी जनकपुरधाममा यतिबेला चरित्रहीन यादव हराऔं भन्ने अभियान नै चलेको छ । चरित्रहीन व्यक्तिलाई उम्मेदवार बनाएमा आफूले समर्थन गर्न नसक्ने देउवानिकट रौतहट कांग्रेसका नेताहरूले बताएका छन् ।