काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का नेता मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार कपिलवस्तुको बहदुरगञ्जमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्तालाई पार्टी प्रवेश गराएका हुन् ।
गुप्ताको टोलीलाई एमालेमा स्वागत गर्न अध्यक्ष ओली स्वयं कपिलवस्तु पुगेका हुन् । गुप्ता कपिलवस्तु क्षेत्र नम्बर ३ बाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो स्थानमा थिए ।
कांग्रेसका अभिषेकप्रताप साहले २० हजार मत प्राप्त गरेर जित्दा उनले करीव १६ हजार मत प्राप्त गरेका थिए । लामो समय कपिलवस्तुमा राजनीति गरेका मंगलप्रसाद गुप्ता कांग्रेस, तमलोपा, फोरमबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
२०४७ र २०५६ मा कांग्रेसबाट उम्मेदवार भएका उनी २०७० मा तमलोपा र २०७४ मा फोरमबाट लडेका थिए । तर सबै चुनावमा उनी थोरै मतले पराजित हुँदै आएका छन् । छोराबुहारी अमेरिकामा रहेका ७३ वर्षीय गुप्ता पनि जानेआउने गर्दछन् ।




प्रतिक्रिया