निरन्तर संसद अवरुद्ध पारेपछि एमालेसँग सभामुख असन्तुष्ट

निरन्तर संसद अवरुद्ध पारेपछि एमालेसँग सभामुख असन्तुष्ट


काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढ्न आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठक एमालेले अवरुद्ध पारेपछि सभामुख सापकाटाले आफ्ना मागलाई सदनमा राख्न आग्रह गरेका हुन् ।

‘सभाको नियमित प्रक्रियामा प्रवेश गरी आफ्ना असहमतिलाई राख्न अनुरोध गर्दछु । माननीय सदस्यहरू सभाको बैठकलाई सुव्यवस्थित तरिकाबाट सञ्चालन गर्न आ–आफ्नो आसनग्रहण गरिदिन र नेपालको संविधानअनुसार बैठक सञ्चालनमा आवश्यक सहयोग गर्न अनुरोध गर्दछु,’ उनले भने ।

साथै उनले एमालेले अदालतमा विचाराधिन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी संसद अवरुद्ध गरिरहेको बताएका छन् ।

सापकोटाले अदालतमा विचाराधिन मुद्दाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै एमालेलाई सचेत गराए ।

‘नेपालको संविधान धारा १ को ५ ले अदालतमा विचाराधिन मुद्दाहरूको सन्दर्भमा न्याय निरुपणमा प्रतिकूल असर पार्ने विषयमाथि संघीय संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मरण गराउन चाहन्छु,’ सापकोटाले भने ।

राष्ट्र हितको कैयन विषयमा आवश्यक निर्णय गरेर अघि बढाउनुपर्ने संसद अवरुद्ध पारेर एमालेले संसदीय विधि र प्रक्रियाविपरीत काम गरिरहेको बतए ।

‘परिस्थति र परिवेश सधैँ एकै रहँदैन । समसामयिक राजनीतिक परिस्थितिलाई राष्ट्रिय हितमा ध्यान राखी कार्य सम्पादन गर्नु र सरकारलाई गर्न लगाउनु संसदको प्रमुख कर्तव्य पनि हो,’ सापकोटाले भने, ‘उल्लेखित विषयवस्तु मनन गर्दै सहज सभा सञ्चालनमा सहयोग गर्न सम्पूर्ण माननीय सदस्यहरूको ध्यानाकर्षण गर्दछु ।’

नेकपा एमालेले भने नेकपा एकीकृत समाजवादीमा लागेका पूर्वएमाले सांसदहरूलाई पदरिक्त गर्न सिफारिस गरिएकोमा उनीहरूलाई कारबाही नगरेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गरेको छ ।