को हुन् कांग्रेसमा सर्वाधिक भोट पाउने मुक्ता यादव ?

को हुन् कांग्रेसमा सर्वाधिक भोट पाउने मुक्ता यादव ?


काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

७३ पदको मतगणना सकिएर अहिलेसम्म आएका परिणाममा यादवले सबैभन्दा धेरै चार हजार नजिक ३९६० मत ल्याएकी हुन् । १२ औं र १३ औं महाधिवेशनमा लगातार पराजित भएकी उनले यो पटक भने झण्डै ८५ प्रतिशत मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म गणना भएको मतको परिणाममा निर्वाचित उम्मेदवारले प्राप्त गरेको यो नै सबैभन्दा धेरै मत हो ।  उनी मधेशी महिला समूहतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । यसअघि केन्द्रीय सदस्यमा सर्वाधिक मत शशांक कोइरालाले ल्याएका थिए । तर, कोइरालाले ल्याएको ३८३६ मतभन्दा १२४ मत बढी ल्याइन् ।

पदाधिकारीको मत परिणाम आउँदा गगनकुमार थापाले सर्वाधिक मत पाएका थिए । उनले ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए । तर, खुला केन्द्रीय सदस्यको परिणाम आउँदा गगनलाई उछिनेर शशांकले ३८३६ मत ल्याए ।

मधेशी महिला समूहको परिणाम आउँदा शशांकलाई मुक्ताकुमारीले उछिनेर सर्वाधिक मतसहित सदस्यमा निर्वाचित भएकी हुन् ।

को हुन उनी ?

मधेशी महिलातर्फ एक नम्बरमा केन्द्रीय सदस्यमा विजयी मुक्ता २०४३ साल भदौ १३ गते महोत्तरीमा जन्मिएकी हुन् । २०५३ सालबाट राजनीति यात्रा सुरु गरेकी उनले स्नातकसम्म अध्ययन गरेकी छन् ।

राजनीतिमा आउनुअघि उनी शिक्षण र कृषी पेसमा आबद्ध थिइन् । मुक्ताले २०५३ मा काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ जिल्ला कार्यसमिति सदस्यबाट राजनीति यात्रा सुरु गरेकी थिइन् । नेपाल शिक्षक युनियनमा समेत आबद्ध भएकी उनी ०५७ मा नेपाल शिक्षक संघको केन्द्रीय प्रतिनिधि भएकी थिइन् ।

२०७० मा दोस्रो संविधानसभामा समानुपातिक सांसद समेत भएकी उनले राज्यबाट संविधानसभा पदक समेत पाएकी छन् ।प्रदेश २ बाट २०७४ मा काँग्रेसको राष्ट्रिय सभा सदस्य बनेकी उनी २ वर्षे कार्यकाल बिताएर बिदा भएकी थिइन्

यसअघि केन्द्रीय सदस्यमा सर्वाधिक मत पाउने कोइरालालाई पनि उछिनेकी मुक्ताले कसरी यति धेरै मत ल्याइन् भनेर कांग्रेसमा चर्चा सुरु भएको छ ।

यसको पछाडिको कारण भनेको मुक्ता उम्मेदवारी दिँदा कुनै समूहमा खुलेकी थिइनन् । सामाजिक सञ्जालमासमेत उम्मेदवारीको जानकारी गराउँदा मुक्ताले समूह खुलाएकी छैनन् ।

मधेसी महिलातर्फ समूहगत उम्मेदवारको नामावली हेर्ने हो भने सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरेर तिनवटै प्यानलमा उनको नाम थियो । त्यसैकारण आफूलाई सर्वाधिक मत आएको उनको निष्कर्ष छ ।