एमालेलाई सभामुखको विशेष आग्रह : अरुको कुरा पनि सुन्ने अभ्यास गर्नुहोस्

एमालेलाई सभामुखको विशेष आग्रह : अरुको कुरा पनि सुन्ने अभ्यास गर्नुहोस्


काठमाण्डु – प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गरेको छ । पार्टी विभाजनमा सभामुखले भुमिका खेलेको आरोप लगाउदै एमालेका सांसदहरुले भदौ २३ गतेदेखि संसदमा अवरोध गर्दै आएका छन् । एमालेको अवरोधका कारण संसदिय काम कारवाही नै प्रभावित बनेको छ । सभामुखले पटक–पटक आग्रह गर्दा पनि एमाले आफ्नो अडानबाट पछि हटेको छैन ।

अदालतमा विचाराधिन बिषयलाई एमालेले संसदमा रटान लगाइरहेको छ । आफुहरुले कारवाही गरेका सांसदहरुको नाम सूचनामा टाँस गर्न उनिहरुको माग छ । आजको बैठकमा पनि अवरोध गरेको एमालेलाई सभामुख अग्नि प्रसाद सापकोटाले संसद संचालनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

उनले भने ‘माननीय सदस्यहरु, हाम्रो कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरुले बोल्न पाउनुपर्छ, जनताका आवाज मुखरित गर्ने जनताको सर्बोच्च जनप्रतिनिधि सभा अबरुद्ध हुँदा जनतामा एक प्रकारको निराशाको भाव पैदा हुने खतरा पैदा भएको छ, त्यस कारण म तपाइहरुलाई विशेष रुपमा आग्रह गर्न के चाहन्छु भने, आफ्ना मतभेदहरु, आफ्ना भनाइहरु यहाँ तपाईहरुले बैठकलाई सूचारु रुपमा सञ्चालन गर्ने वातावरण बनाएर आफ्ना कुरा पनि राख्ने अरुको पनि कुरा सुन्ने लोकतन्त्रको उच्चतम अभ्यासलाई तपाइहरु बढि जानकार हुनुहुन्छ । मैले स्मरण मात्र गराउन खोजेको हो । त्यसकारण म फेरि विशेष रुपमा यो बैठकलाई प्रभावकारी बनाउन, सूचारु रुपले सञ्चालन गर्नका लागि म तपाईहरुलाई विशेष रुपमा आग्रह गर्दछु ।’