काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सैनिक सकलदर्जा सहुलियतपूर्ण आवासकर्जाको सुभारम्भ गरेका छन् । उनले बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चेक हस्तान्तरण गरि ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवासकर्जा–२०७८’ को सुभारम्भ गरेका हुन् ।
नेपाली सेनाले सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका श्रीमान वा श्रीमतिको नाममा नेपालभित्र आफ्नो घर नम्बर नभएका बहालवाला सकलदर्जाहरुलाई अत्याधिक सहुलियतपूर्ण ब्याजदर (जम्मा ३.३२%) मा मुलुकभर भवन निर्माण गर्न वा घर खरीद गर्न २५ लाखसम्मको आवास कर्जा उपलब्ध गराउने उद्देश्यका साथ उक्त आवास कर्जा सुविधा कार्यान्वयनमा ल्याएको हो ।
हालसम्म २० जनाले उक्त सुविधाको लागि आवेदन दिइसकेको र त्यसमध्ये ७ जनाको प्रकृया पूरा भइ बैंकमा सिफारिस भइसकेको छ भने अन्य आवेदनहरु प्राप्त हुने क्रममा रहेका छन् ।
प्रधानसेनापति शर्माले पदवहाली पश्चात सकलदर्जालाई सम्बोधन गर्दै उक्त आवासकर्जा कार्यक्रम लागु गर्ने प्रतिबद्धता गरेका थिए । सो बमोजिम मिति २०७८ कार्तिक २२ गते राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान तथा नेपाली सेनाबीच ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा–२०७८’ मा सम्झौता भएको थियो ।
आवास कर्जा आवेदन स्वीकृत भएका बहालवाला सकलदर्जाहरुलाई दोश्रो पक्षले धितो मूल्यांकनको आधारमा घर खरीद गर्न एकमुष्ठ र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा पहिलो किस्ता स्वीकृत कर्जाको ४० प्रतिशत र दोश्रो तथा अन्तिम किस्ता ३०/३० प्रतिशतका दरले निर्माण प्रगतिको आधारमा प्रवाह गर्नेछ ।




प्रतिक्रिया